बुधबार, साउन २०, २०८३

पूर्वी नाकामा किन बढ्दैछ आसामिस र बंगाली भाषा मोह ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी - काँकडभिट्टाको मेची नेत्रालय नजिकैको आदित्य बिजुली पसलको नाम नेपालीसँगै आसामिस भाषामा लेखिएको छ। सँगै रहेको एक होटल त आसमकै नाममा राखिएको छ। रोयल आसामिस होटलको बोर्ड नेपाली, अंग्र्रेजी र आसामिस भाषामा लेखिएको छ।

आसाम मात्रै हैन बंगलादेश र बंगाली भाषाको प्रभाव पनि काँकडभिट्टाका होटलमा देखिएको छ। बंगलादेशको राजधानी ढाकाकै नाममा सञ्चालित छ न्यु ढाका होटेल। होटेल बालाजीको नाम अंग्रेजी र बंगालीमा लेखिएको छ।

किन यसरी नेपालको सुदू पूर्वी सिमानाको सहर काँकडभिट्टाका पसल तथा होटलमा आठ घन्टा हाराहारीको सडक दुरीको आसामको भाषा लेखिएको हो? किन काँकडभिट्टामा सिमानापारिको पश्चिम बंगाल र १ घन्टा हाराहारीको सडक दुरीमा रहेको बंगलादेशको राजधानी र भाषा प्रयोग हुन्छन् होटेलमा?

यी प्रश्नको जबाफ छ काँकडभिट्टाको होटल बालाजीका सञ्चालक रमेश सेन्चुरीसँग। सेन्चुरीका अनुसार काँकडभिट्टामा पश्चिम बंगालका थुप्रै मान्छे आँखा उपचार गर्न दैनिक आउँछन्। त्यही जमातलाई तान्न बंगाली भाषामा आफ्नो होटलको बोर्ड राखिएको सेन्चुरी बताउँछन्। उनी भन्छन्, ‘यहाँका अस्पतालले पनि बंगाली भाषा जान्ने डाक्टरलाई जागिरमा प्राथमिकता दिने सुनेका छौं।’

सेन्चुरीको जस्तै भनाइ छ होटल दर्शनका सञ्चालक जुगल ठकुरियाको। ठकुरियाका अनुसार काँकडभिट्टामा आसामदेखि बंगालका भारतीयहरू आँखाको उपचार गर्न आउँछन्। त्यसरी आएका भारतीय आसामिस र बंगालीहरूले नेपाली र अंग्रेजीभन्दा आफ्नै भाषामा लेखिएका होटल तथा पसलका साइनबोर्ड मात्रै सहज रूपमा बुझ्ने ठकुरिया बताउँछन्।

काँकडभिट्टा स्थायी घर भएका पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य काँकडभिट्टामा आगन्तुकलाई सहज पार्न उनीहरूको भाषालाई औपचारिक रूपमा लेख्ने राम्रो प्रचलन भएको बताउँछन्। ‘आँखाको उपचार गर्न आउने मेडिकल पर्यटन र घुमफिर गर्न आउने अन्य पर्यटकलाई भाषिक सहजता बनाउन उनीहरूको भाषामा लेख्ने चलन बढ्यो’, आचार्य भन्छन्, ‘काँकडभिट्टामै आसाममिस र बंगाली भाषा जान्नेहरू भएकाले भाषाका बोर्ड बनाउन पनि समस्या छैन।’

भारतीय बिरामीमा लोकप्रिय झापाका आँखा अस्पताल

नेपालको आँखा उपचार सस्तो र राम्रो भएको भन्दै भारतीयहरू आउने गर्छन्। यसरी आउनेमै पर्छन् होटेल बालाजीमा भेटिएका कपिल भट्टाचार्य। पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलगुरीबाट काँकडभिट्टाको मेची नेत्रालयमा आमालाई उपचार गर्न लिएर आएका छन् भट्टाचार्य। भट्टाचार्यले गत मंगलबार आफू नेपाल आउनुको कारण बताए, ‘भारु भन्दा नेपाली पैसा सस्तो छ, आँखा उपचार पनि राम्रो र सजिलो छ।’ उनले आफूभन्दा अगाडि धेरै चिनजानको आफन्त नेपालमै आएर आँखाको सस्तो र राम्रो उपचार गरेर गएको बताए।

मेची नेत्रालयकी कार्यकारी निर्देशक पूनम प्रधान राई आफ्नो आँखा अस्पतालका अधिकांश बिरामी भारतीय भएको बताउँछिन्। उनका अनुसार आसाम, पश्चिम बंगालका बिरामी मेची नेत्रालयमा आउँछन्। आफ्नो अस्पतालमा ७० प्रतिशत बिरामी भारतीय आउने उनको भनाइ छ।

‘हाम्रो अस्पताल काँकडभिट्टाको बोर्डरमै भएको एक्लो अस्पताल हो’, राई भन्छिन्, ‘यहाँ दैनिक १५० देखि २०० सम्म बिरामी आउँछन् जसको ७० प्रतिशत भारतीय नै हुन्छन्।’ बंगाली र आसामिस भाषीजस्तै दार्जिलिङ र आसामका नेपाली भाषी पनि आफ्नो अस्पतालमा आउने राई बताउँछिन्।

झापामा मेची नेत्रालयजस्तै भारतीय माझ लोकप्रिय आँखा अस्पतालहरू हुन् मेची आँखा अस्पताल, काँकडभिट्टा आइकेयर, दृष्टि आइ केयर सेन्टर, बिर्तामोड आँखा अस्पताल र काकरभिट्टा आँखा अस्पताल। यस्तै मेची दिव्य ज्योति आँखा अस्पताल र दिव्य ज्योति आइ एन्ड इयर अस्पताल झापाका अन्य आँखा अस्पताल हुन्।

आँखा अस्पताल आसपासका होटेल तथा पसलमा बंगाली र आसामिस भाषामा बोर्ड राख्ने गरेको व्यापारीहरू बताउँछन्। सबैभन्दा धेरै आगन्तुक बङ्गाल र आसामबाट आउने भएकाले यी भाषाका बोर्ड धेरै लेखिएको होटेल सञ्चालकहरू बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।