जनकपुरधाम- प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः शुक्रबारबाट सुरु भएको छ । परीक्षा स्थगित भएको आक्रोशमा दुई दिन सडकमा ओर्लेका विद्यार्थीहरु आन्दोलनलाई विराम दिए । र, २२ चैतबाट हुने बाँकी परीक्षाको तयारीमा जुटे ।
तर प्रदेश २ कै सकहर्मी विद्यार्थीहरु एसईईको तयारी गरिरहँदा बारा र पर्साका सयौं विद्यार्थी आफू र आफ्ना परिवारका लागि ओत खोज्न व्यस्त भए । अझै पनि उनीहरु ओत खोज्दै भौतारिरहेका छन् । परीक्षाको तयारी छोडेर गासवास खोज्नु बारा र पर्सा जिल्लाका केहि गाउँका विद्यार्थीहरुको रहर थिएन, बाध्यता बन्यो ।
१४ चैतमा विज्ञान विषयको परीक्षा पुरा भइसकेपछि प्रश्नपत्र अगाबै चुहिएको सूचना सार्वजनिक भएपछि परीक्षा रद्द भयो । त्यसको भोलिपल्ट सामाजिक विषयको परीक्षा अगाबै प्रश्नपत्र चुहिएको पुष्टि भइसकेपछि परीक्षा केन्द्र पुगिसकेका विद्यार्थीहरु परीक्षा नै नदिइ घर फर्के । परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीहरु सडकमा आन्दोलन गरिरहँदा १७ चैत राति भीषण हावाहुरुको चपेटामा पर्यो बारा र पर्साका झण्डै एक दर्जन गाउँ ।
तीव्र गतिमा आएको हावाहुरीले बारा र पर्सामा मचाएको बितण्डाले २८ जनाले ज्यान गुमाए, झण्डै ६ सय जना घाइते छन् भने ९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ आंशिक रुपले क्षतिग्रस्त भएको छ । यस्तै पर्सामा १ सय २२ र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको प्रदेश सरकारको प्रारम्भिक तथ्यांकले देखाउँछ ।
घरबारविहीन भइसकेका मध्ये कतिपयका छोराछोरी एसईई दिँदै छन् । शुक्रबारबाट पुनः सुरु भएको एसईई ठुलो चुनौती बनेको छ अहिले, उनीहरुलाई । बारा र पर्सामा हावाहुरीबाट प्रभावित गाउँका कतिपयलाई लागेको छ एसईई केहिदिन अरु सरिदिए हन्थ्यो । तर उनीहरुले सोचे झैं सम्भव पक्कैपनि छैन्, एसईईको समय सर्नु ।
बस्ने ओत छैन वेगमा आएको हावाहुरीले बिजुलीका पोलहरु उखेलिसकेकोले वस्ति अँध्यारो छ, खाने लाउने ठेगान छैन्, उनीहरुलाई । तर एसईई दिनुपर्ने छ ।
'हावाहुरीले घरबार उडाएर लगि सक्यो बस्ने ठाउँ छैन, कसरी दिनु परीक्षा?,' बारा सुवर्ण गाउँपालिका–८ परशुरामकी नितु साहको प्रश्न छ । सबैकुरा सामान्य छँदाछँदै एक्कासी आएको हावाहुरीले केहि बाँकी छोडेन नितुले बताइन् ।
९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ आंशिक रुपले क्षतिग्रस्त भएको छ । यस्तै पर्सामा १ सय २२ र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक आएको उनको भनाइ छ ।
'राहतस्वरुप पाएको त्रिपालभित्र सबै परिवार बसेर गुजारा गरिरहेका छौं' उनले भनिन्, 'किताब कपी कहाँ हो कहाँ केही ठेगान छैन् । परीक्षामा के लेख्ने मलाई त थाह भएन् ।' 'राहतल सामग्री उपलब्ध गराउने कुरा हुँदै छ तर हामीले परीक्षा कसरी दिने यसबारे कसैले सोचि दिएन,' नितुको गुनासो छ ।
हर्दिया माविका छात्रा नितुको परीक्षा केन्द्र पिपडाढीमा छ । घरबारविहीन अवस्थामा रहेका आमाबुबालाई त्रिपालमुनी छोडेर परीक्षा दिन उनको मनले मानेको छैन् । तर आमाबुबाले भने जसरी पनि परीक्षा दिनुपर्ने भत्रे गरेको उनले सुनाइन् ।
सुवर्ण गाउँपालिकाकै परवेज अन्सारी पनि एसईई परीक्षाका कारण पीरमा देखिएका छन् । एकतर्फ घरबार गइसकेको पीडा छ भने अर्कोतर्फ एसईईमा सहभागी हुनुपर्ने चिन्ता लागेको छ, परवेजलाई । 'शुक्रबारदेखि हुने परीक्षाको तयारी शुन्य छ । नपढ्ने वातावरण छ नसुविधा,' परवेज भन्छन्,'पढ्ने सबै थोक हावाहुरीले लगि सकेको छ । कसरी परीक्षा दिन सकिन्छ ।' 'राहतमा पाइने सामग्रीहरुमा खाद्यात्र र लत्ताकपडाहरु हुन्छन्, किताब कपी गुमाइ सकेका हामीलाई शैक्षिक सामग्रीको पनि आवश्यक्ता छ,' परवेजले सुनाए ।
परिस्थिति प्रतिकूल छ तर बारा र पर्सामा हावाहुरीबाट प्रभावित क्षेत्रका एसईईमा सहभागी हुने विद्यार्थीहरु भने हिम्मत हारेको देखिँदैनन् । बाध्यात्मक परिस्थितिका कारण त्रिपाल मुनी बसेर दिन काट्नु परिरहँदा समेत एसईई दिने जागरमा छन्, उनीहरु ।
कुनैपनि परीक्षामा सामेल हुनुपूर्व विद्यार्थी मानसिक रुपमा तयार हुनुर्दछ । तर बारा र पर्साका प्रभावित क्षेत्रका यस्ता विद्यार्थीहरुका लागि राज्यले केहि गरे जस्तो देखिएको छैन् । घरबारका साथै घरबारविहीन भएका उनीहरुलाई खाद्यात्र, लत्ताकपडाका साथै एसईई दिने विद्यार्थीहरुका लागि राहतमा शैक्षिक सामग्रीको पनि आश्यक्ता देखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४