जनकपुरधाम – प्रदेश २ मा शुक्रबारदेखि पुनः हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा केन्द्राध्यक्ष बाहेक अन्य सबैलाई मोबाइल फोन बोक्न रोक लगाइएको छ। मोबाइलबाटै प्रश्नपत्र बाहिरिएको र परीक्षामा चिट चोर्ने माध्यम बनेको गुनासो आएपछि यस्तो निर्णय भएको हो। प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा स्थगित भएको एसईई शुक्रबार बिहान ८ बजेदेखि पुनः सञ्चालन हुँदैछ।
प्रदेश माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको विहिबार बसेको बैठकले परीक्षालाई थप मर्यादित र शान्तिपूर्ण बनाउन केन्द्राध्यक्षबाहेक अन्यलाई परीक्षा अवधिभर मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्माले बताएका छन्।
यसअघि परीक्षा अनुगमनको क्रममा मोबाइलको दुरुपयोग भएको पाइएकोले यस्तो निर्णय गरिएको उनको भनाई छ। यसैगरी बैठकले प्रश्नपत्र भण्डारण कोठामा जाने क्रममा सुरक्षाकर्मी, केन्द्राध्यक्ष र कर्मचारीलाई पनि मोबाइल बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
परीक्षामा खट्ने केन्द्राध्यक्षबाहेकका सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी सबैले मोबाइल अफ गरी नाम उल्लेख गरिएको खाममा राखी केन्द्राध्यक्षलाई जिम्मा लगाउने छन्।
‘प्रश्नपत्र रुजु गर्न प्रश्नपत्र भण्डारण कोठामा जाने सुरक्षाकर्मी, केन्द्राध्यक्ष र कर्मचारीले आ–आफ्नो मोबाइल कोठा बाहिर सुरक्षाकर्मीको नियन्त्रण राखेरमात्र जान सक्ने निर्णय भएको छ,’ शर्माले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४