ललितपुर – ललितपुर महानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमका वक्ताहरुले औंल्याएका छन्। आर्थिक वर्ष २०७६/२०७७ का लागि ललितपुर महानगरपालिकाले आयोजना गरेको वार्षिक विकास कार्यक्रमको पुर्व योजना तर्जुमा गोष्ठीमा बताएका हुन्।
प्रतिनिधि सभा सांसद पम्फा भुषालले भौतिक पूर्वाधार नै विकासको लागि पहिलो आधार भएको बताइन्। यसैगरी प्रदेश सभा सांसद माधव पौडेलले परिणाम प्राप्त विकासका लागि जोड दिनुपर्ने बताए।
ललितपुर महानगरकी उपमेयर गीता सत्यालले महानगरपालिकाको पहिलो प्राथमिकता महातगर बासिले प्रत्यक्ष अनुभुति गर्ने गरी योजना बनाइने बताइन्। सत्यालले भनिन्, ‘सडक, ढल निकास र फोहोर व्यवस्थापन महानगरको पहिलो प्राथमिकताको योजना हो।’
उनले महानगरमा पछि गाभिएका १० वटा वडाहरु बिकास तथा स्तरोन्नतीका लागि विशेष महत्वका साथ ध्यान दिने बताइन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशीले दिर्घकालीन ठुला योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने बताए।
उनले भने, ‘विकास भनेको सडक विस्तार मात्र होइन्, सडक कति सुविधा सम्पन्न छ भन्ने पनि हो । त्यसतर्फ महानगरले बजेट निर्माण गर्दा ध्यान दिनुपर्छ।’ जोशीले प्रत्येक वडामा व्यवस्थित पार्क र पार्किङको पनि व्यवस्था हुनुपर्ने बताए।
ललितपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमप्रसाद भट्टाईले सहभागीता मुलक विकास योजना निर्माणका लागि यो गोष्ठी आयोजना गरिएको बताए।
गोष्ठीका सहभागीहरुले महानगरका २९ वटा मध्य १९ वटा वडामा भएका जस्तै विकास पछि गाभिन आएका १० वटा वडाहरुमा गर्नका लागि सुझाव दिएका थिए। उनीहरुले सम्पदा र संस्कृतिको नगर ललितपुरलाई पर्यटकलाई आकर्षित गर्न विशेष योजना ल्याउन समेत जोड दिए। महानगरले छुट्टै अस्पताल संचालन गर्नुपर्ने धारणा राख्दै अबको आर्थिक वर्षमा यसलाई समावेश गर्न सुझाव दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४