अमेरिका –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा रुससँग साठगाँठ नभएको प्रतिवेदन सार्वजनिक भएको छ।
राष्ट्रपतीय निर्वाचन अभियानसँग सम्बन्धित विवादबारे छानबिन गरेका अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले बुझाएको प्रतिवेदनमा राष्ट्रपतीय निर्वाचनमा प्रभाव पर्नेगरी राष्ट्रपति ट्रम्प वा उनको चुनावी अभियान समूहका कसैको रुससँग साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख छ।
तर ट्रम्पले न्याय निरूपणमा अवरोध नगरेको भनेर सो सारांशमा निष्कर्ष निकालिएको छैन।अर्थात् सो आरोपमा उनले सफाइ भने पाएका छैनन्। दुई वर्षको यस अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्पका थुप्रै पूर्वसहयोगीहरूलाई मुद्दा चलाइयो। केहीलाई जेल पनि पठाइएको थियो।
यसैबीच प्रतिवेदनबारे ट्रम्पले प्रतिक्रिया दिँदै यो मानमर्दनको गैरकानुनी प्रयास भएको र अन्ततः असफल सिद्ध भएको बताए। 'यो लाजको विषय हो कि देश यस्तो प्रक्रियामा जानुपर्यो।', उनले भने। उनले आफुले सफाई पाएको दाबीसमेत गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४