आइतबार, साउन १७, २०८३

कहिले भत्किएला छाउगोठ ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- 'डराई–डराई गोठमा सुत्छु, त्यसपछि हप्ता दिनसम्म राम्रो निद्रा पर्दैन', छाउगोठमा बस्नुपर्दाका पीडा सुनाउँदै पञ्चपुरी ५ की शोभा अधिकारी भन्छिन्, 'बार्नु हुँदैन भन्ने राम्रोसँग थाहा छ। तर घर र समाजका लागि गोठमा जानैपर्छ।' कक्षा ११ मा पढ्दै गरेकी शोभा छाउ बार्नु हुँदैन भनेर न परिवारलाई सम्झाउन सक्छिन् न त समाजसामु यसबारे खुलेर विरोध गर्न सक्छिन्। 'छाउ नबारेपछि देउता रिसाएर अनिष्ट हुन्छ भन्छन्', उनले भनिन्, 'बाउबाजेदेखि समाजले चलाएको परम्परा मैले कसरी तोड्नु ?'

शोभा जस्तै पञ्चपुरी ४ चौरकी इन्द्रा बिसीलाई पनि छाउप्रथाको विरोधमा  बोल्ने आँट छैन। 'छाउ नबारे समाजमा पानी चल्दैन', इन्द्रा भन्छिन्, 'समाजबाट अलग्गिनुभन्दा गोठमै बस्नु जाती।' कक्षा १२ मा अध्ययरत उनलाई यो शारीरिक अवस्था हो भन्ने राम्रोसँग थाहा छ।

'छाउ भएपछि भोक र निद्रा बिर्सनै पर्छ', इन्द्रा भन्छिन्, 'न मनले मागेको खाना पाइन्छ, न त ढुक्कले सुत्न।' विद्यालयमा पोष्टिक आहारा खानुपर्छ भनेर पढ्ने उनले यस्तो अवस्थामा दहीदूध खान त के छुनसम्म पाउँदिनन्। 'दहीदूध खाएपछि भैंसीले दूध घटाउँछ भन्छन्', उनले भनिन्, 'समाजले भनेको कुरा मान्नै पर्‍यो, जान्ने हुनुभएन।'

पञ्चपुरी ३ पलैटेकी तारा भण्डारीका पीडा भने शोभा र इन्द्राका भन्दा धेरै छ। 'छाउगोठमा बस्दा कतिबेला के हुन्छ भन्न सकिन्न', ताराले भनिन्, 'पुसमाघको चिसो र असारसाउनको झरीमा गोठमा त मर्नुजस्तै हुन्छ।' छाउ हुँदा स्वास्थ्य र मानसिक अवस्थामा कमजोरको अनुभूति हुने उनको भोगाइ छ। 'छाउगोठमा सधैं असुरक्षित हुन्छाँै', ताराले भन्छिन् 'पहिले कुकुरबिराला र सर्पबाट जोगिन पथ्र्याे अहिले मान्छेबाट पनि बच्नुपर्छ।'

कर्णालीसहित पश्चिम नेपालमा छाउप्रथा कायमै रहँदा महिलाहरु जोखिम मोलेर छाउगोठमा बस्न बाध्य छन्। छाउगोठ भत्काउन विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले अभियान चलाए पनि सफल हुन सकेको छैन।

'अभियानका क्रममा छाउगाठ भत्काएपछि दिदीबहिनीहरु अझ असुरक्षित भए', पञ्चपुरी २ का सामाजिक अभियन्ता पदम खनाल भन्छन्, 'गोठ भत्किएर के गर्नु दिमागमा छाउ कायमै छ।' छाउगोठ भत्काइएपछि कोही खुला आकाश त कोही घाँस राख्ने ठाउँमा बस्दै आएको खनाल बताउँछन्। 'पुरोहित र ब्राह्मणका घरमा आधुनिक छाउगोठ बनेका छन्। उनीहरुले नै गाउँमा छाउ बार्नुपर्छ भन्छन्', खनाल भन्छन्, 'गाउँघरमा अप्रिय घटना भयो कि छाउ नबार्नेलाई नै दोष दिइन्छ।'

पञ्चपुरी नगरपालिकाले भने छाउपडी हटाउन पुरोहित र ब्राह्मणलाई विशेष शिक्षा दिने बताएको छ। 'हामी केही दिनमै ब्राह्मणहरुलाई नै विशेष शिक्षा दिएर छाउपडीविरुद्धको अभियान चलाउँछाैँ', पञ्चपुरीका मेयर उपेन्द्र थापा भन्छन्, 'एकैपटक निमिठ्यान्नै हुँदैन, यसलाई निरन्तरता दिनुपर्छ।' चौकुने र बराहताल गाउँपालिका पनि छाउपडीविरुद्ध कठोर बन्न थालेका छन्।

गाउँमा अहिले पनि छाउगोठ रहेको र यसअघि भत्काइएका छाउगोठसमेत पुनर्निर्माण हुन थालेपछि यहाँका स्थानीय तहले सेवासुविधामाथि नै अंकुश लगाउने तयारी गरेका छन्। छाउगोठ हटाउन र महिला तथा किशोरीको ज्यान जोगाउन स्थानीय तहले यस्तो उपाय अपनाउन लागेका हुन्। सेवा रोक्का भएमा छाउगोठ भत्काउन दबाब पुग्ने स्थानीय तहको अपेक्षा छ।

सुर्खेतको पश्चिममा २०६० सालतिर अछाम र दैलेखबाट बसाइँ सरी आएको बस्ती छ। पश्चिमका जामु, कुइने, बाबियाचौरी, पलैटे, लगाम र बेतानका बस्तीमा छाउपडी हट्न सकेको छैन। जहाँ पुराना छाउगोठ भत्काएपछि आधुनिक छाउगोठ बनेका छन्। जुन हेर्दा गाईबस्तुलाई घाँस राख्ने दलिन जस्ता देखिन्छन् तर त्यही कटेरालाई किशोरीहरुले छाउगोठको रुपमा प्रयोग गर्दै आएका छन्। त्यहाँका जनप्रतिनिधिहरु पनि भोट घट्ने डरले छाउपडीविरुद्ध बोल्न डराउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।