जनकपुरधाम - कुटपिट गरेको भन्दै वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष शुभनारायण मण्डलका छोरा र उनका भतिजालाई प्रहरीले पक्राउ गरेको हो।
वडा नम्बर १३ का कांग्रेस सभापति जितु राउतमाथि सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले वडा अध्यक्ष मण्डलका छोरा रोशन मण्डल र भतिजा विक्कि मण्डललाई पिडाडी चोकस्थित घरबाट शनिबार साँझ नियन्त्रणमा लिएको छ। मण्डल तत्कालीन एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
चार दिनअघि कांग्रेसका वडा सभापति जितु राउत र उनका भाइ रामनगिना राउतमाथि सांघातिक आक्रमण भएको थियो। राउतद्वयलाई कुटपिट गरेको घटनामा प्रहरीले रोशन र विक्किलाई खोजी गरिरहेको थियो।
पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत धनुषामा आइतबार मुद्दा दर्ता भएको डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४