जनकपुरधाम - पाँच जनाको ज्यान जानेगरी जनकपुर बमकाण्डको अन्तिम सुनुवाइ आइतबारदेखि जिल्ला अदालत धनुषामा सुरु भएको छ। जनकपुरको रामानन्द चोकमा बम विस्फोट भएको झन्डै ७ वर्षपछि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको हो।
जिल्ला अदालतको न्यायाधीश राजेशकुमार कटुवालको इजलासमा मुद्दाउपर सुनुवाइ सुरु भएको छ। पक्ष र विपक्षीका कानुन व्यावसायीहरुले बहस गरिसकेपछि २/३ भित्र मुद्दाको अन्तिम फैसला आउन सक्ने अनुमान गरिएको छ ।
२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले राखेको शान्तिपूर्ण धर्ना कार्यक्रममा विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो भने अन्य ४० जना घाइते भएका थिए । शान्ति धर्नामा बसेकाहरुलाई लक्षित गरी गराइको बम विस्फोटमा परी चर्चित रंङ्गकर्मी रञ्जु झाका साथै स्थानीय झगरु मण्डल, दिपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो।
बम विस्फोटका मुख्य योजनाकार भनिएका तत्कालीन सांसद संजयकुमार साह अहिले पुर्पक्षका लागि हिरासतमा छन्। साहका साथै घटनामा संलग्न रहेको आरोपमा तराई जनतान्त्रिक पार्टी मधेश नामक मूमिगत संगठनका अध्यक्ष मुकेश चौधरी, ओमप्रकाश यादव, मुकेश कर्णलगायतका व्यक्तिहरु समेत पुर्पक्षका लागि थुनामा छन्।
भूमिगत समूहमा सक्रिय रहेका मुकेश चौधरीले बम विस्फोट गराउनबारे तत्कालीन सांसद संजयसँग भएको कुराकानीको टेप सार्वजनिक गरेपछि घटनामा उनको नाउँ मुछिएको थियो।
घटनाका नाइके भनिएका मुकेश चौधरी पक्राउ परेपछि तत्कालीन सांसद साहको समेत पोल खुलेको थियो। चौधरी लगत्तै पक्राउ परेका ओमप्रकाश यादवले पनि जीवनाथ चौधरीको हत्याका लागि रामानन्द चोकमा संजयले विस्फोट गराउन लगाएको बयान दिएका थिए।
ओमप्रकाश यादव पक्राउ परेको सूचना पाए लगत्तै तत्कालीन सांसद संजय कोठामै मोबाइल छाडेर काठमाडौं छोडेका थिए । आफ्ना सहयोगीहरु मार्फत जनकपुरमा सम्पर्क गरिरेहो संजयलाई विस्फोट भएको दुई वर्षपछि प्रहरीले दिल्लीबाट पक्राउ गरेको थियो।
तत्कालीन प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याल संयोजकत्वको समितिले प्रारम्भिक अध्ययनपछि अञ्चल प्रहरी कार्यालय जनकपुरमा गरेको पत्रकार सम्मेलनमा विस्फोटमा राजनीतिक संलग्नता रहेको आशंका व्यक्त गरेका थिए। पछि सरुवा भएर जनकपुर पुगेका प्रहरी उपरीक्षक उत्तम सुवेदीले अर्याल समितिमा सदस्य रहेका तत्कालीन प्रहरी निरीक्षक गोविन्द पुरीको नेतृत्वमा विस्फोटको गुत्थी सुल्झाउन दर्जनौं अपरेसन नै चलाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४