काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई समयभित्रै सरकारलाई हतियार बुझाउन आग्रह गरेका छन्। संघीय संसद्मा आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘विप्लव समूहलाई धेरै पटक वार्ताका लागि आग्रह गर्यौं। मैले पनि धेरै पटक आग्रह गरें। तर निर्दोष मानिस मार्ने काम भएको छ। चन्दाका नाउमा लुटपाट गर्ने काम भएको छ। नीति र क्रियाकलाप अपराधी छन्। सरकारले विध्वंस छोड भनेर उसको गतिविधमा रोक लगाएको हो।’ सम्बोधनका क्रममा विप्लव समूहप्रति आक्रामक देखिएका ओलीले प्रश्न गरे, ‘लोकतन्त्रमा बम पडकाउन पाइन्छ? जन्तीका बस जलाइदिने, सभामा सुन्न आएकालाई बम पडकाउन पाइन्छ?’
उनले गाई कि त्रिशूल जसरी नभई लामो संघर्ष गरेर गणतन्त्र आएको दाबी गरे। ‘हामी सुशासनमा हिँडिरहेका बेला त्यसलाई भाँंडने काम स्वीकार्य छैन। अब नेपाल पछाडि फर्कंदैन’, ओलीले भने।
विप्लव समूहलाई आफूले सम्झाउन खोजेको सन्दर्भ निकाल्दै ओलीले भने, ‘महाभारतमा श्रीकृष्णलाई सम्झाउन साह्रै आउँथ्यो। सम्झाउँदा भएन भने औलामा चक्र घुमाउँथे। सम्झाउँदा मात्रै हुने भए किन चक्र घुमाउँथे ?’ उनको प्रश्न थियो।
ओलीले भने, ‘राज्यले सम्झाउँदा भएन भने कारबाही त गर्छ गर्छ । हतियार बुझाउन समय दिएको छ त्यो भित्र लुरुलुरु आए हुन्छ। नबुझाए कसरी खोस्नुपर्छ सरकारलाई थाहा छ। अब देशमा यसै प्रकारको हिंसाका शृंंखला राख्न सकिन्छ भनेर कल्पना नगरे हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४