काठमाडाैं- न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारी ले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ। यस्तै सो घटनामा परी अन्य २० जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन्।
हमलामा कतिजना संलग्न छन् भन्ने प्रष्ट भइसकेको छैन। अलजजिराले भने हमलामा अहिलेसम्म कम्तीमा ४० जनाको मृत्यु भएको जनाएका छन्। प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन्।
प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्। सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ र सबै विद्यालयहरूको ढोकामा ताल्चा मारिएको छ।
'बंगलादेशी क्रिकेट टोली जोगियो’
बंगलादेशी टेस्ट क्रिकेट टोलीका कप्तानले आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका छन्। आक्रमण हुँदा बंगलादेशी टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए। बंगलादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेका र आफ्नो सम्पर्कमा रहेका जनाएको छ।
सो घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दुःख व्यक्त गरेका छन्। ’मुस्लिम्ज इन न्यूजिल्यान्ड’को फेसबुक पेजमा समवेदनाको ओइरो लागेको छ ।
बिबिसी
