काठमाडाैं - भारतमा हुने लोकसभा चुनावको मिति सार्वजनिक भएको छ। चुनाव सात चरणमा हुने र त्यसको नतिजा २३ मे सम्म आइसक्ने छ। ११ अप्रिलमा पहिलो चरणको चुनाव हुने भारतीय चुनाव आयोगले जानकारी दिएको छ।
पहिलो चरणमा कुल २० राज्यका ९१ लोकसभा सिटमा मतदान हुनेछ। यस्तै दोस्रो चरणमा १३ राज्यका ९७ सिट, तेस्रो चरणमा १४ राज्यका ११५ सिट, चौथो चरणमा ९ राज्यका ७१ सिट, पाँचौं चरणमा ७ राज्यका ५१ सिट, छैटौं चरणमा ७ राज्यका ५९ सिट र सातौं चरणमा ८ राज्यका ५९ सिटका लागि चुनाव हुने आयोगले आइतबार जानकारी दिएको छ।
आयोगका मुख्य चुनाव आयुक्त सुनील अरोडाले पहिलो चरणको चुनाव ११ अप्रिल, दोस्रो चरको १८ अप्रिल, तेस्रो चरणको २३ अप्रिल, चौथो चरणको २९ अप्रिल, पाँचौं चरणको ५ मे, छैटौं चरणको १२ मे र सातौं चरणको १९ मे मा हुने जानकारी दिए। मतगणना भने २३ मे बाट हुने उनले बताए। चुनावका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध गरिसकिएको आयोगले जानकारी दिएको छ।
आयोगले चुनावको मिति घोषणा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले प्रजातन्त्रको पर्व सुरु भएको बताएका छन्। उनले चुनावी प्रक्रियामा सहभागी हुन सम्पूर्ण देशवासीलाई आग्रहसमेत गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४