काठमाडौं- भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच युद्धको खतरा बढेको छ ।
भारतीय हवाई सेनाले पाकिस्तानको खाइबरपख्तुनख्वास्थित बेलाकोटमा १ हजार किलोको बम खसालेपछि युद्धको खतरा बढेको छ । उसले मंगलबार बिहान साँढे ३ बजे एकैसाथ १२ वटा ‘मिराज’ युद्धविमानबाट पाकिस्तानी आतंकवादी समूह जैश–ए–मोहम्मदको तालिम केन्द्रलाई लक्षित गर्दै १ हजार किलोग्रामभन्दा बढी बम खसालेको दाबी गरेको हो ।
बम आक्रमणबाट दुई सयदेखि ३ सय व्यक्ति मारिएको जिकीर गरेको छ। तर, पाकिस्तानले भने उक्त आक्रमणलाई असफल बनाएको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन्– मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ ।
कारबाहीपछि भारतीय सेना भागेको उनले उल्लेख गरेका छन् । भारतीय वायुसेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ।
गत फ्रेबुअरी १४ मा पाकिस्तानमा रहेको आतंकवादी समूह जैश–ए–मोहम्मद आतंकबादी समुहले भारतको कश्मीरमा गराएको आत्माघाती आक्रमणमा ४० भन्दा बढी सुरक्षाकर्मी मारिएपछि बदलास्वरुप भारतले पाकिस्तानभित्रै सैन्य कारबाही गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४