बिहीबार, मंसिर २७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गुरुआमालाई रुवाउने कविवरको त्यो किस्सा

मञ्जु मिस सानोमा बुवा कविसँगै लेखनाथको घर जाँदा कविशिरोमणिले दाह्रीमा मोही दलिरहेका रहेछन्। दाह्री मुलायम बनाउन उनले त्यसरी मोही दल्ने गरेको कुरा मिसले हामीलाई सुनाउनुभएको थियो। कविशिरोमणिसँग जोडिएका यस्ता अनेक किस्सा सुनाएर हामीलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो मञ्जु मिस।
 |  बुधबार, भदौ २, २०७८
nespernesper

महेश्वर आचार्य

महेश्वर आचार्य

बुधबार, भदौ २, २०७८

ntc landingntc landing

वर्षौंअघि मेरा एकजना गुरुले भन्नुभएको थियो– विद्यार्थीले दुई पटक आफूलाई आफ्नो हैसियतभन्दा ठूलो ठान्छ। एक पटक १० कक्षा पढ्दा, अर्को पटक मास्टर्स पढ्दा। गुरुको भनाइमा १० कक्षा पढ्दा विद्यार्थीमा म सबैभन्दा ठूलो हुँ भन्ने भान पर्छ रे। जब म कक्षा १० मा पुगें, मलाई पनि उहाँका दमदार कुरा सान्दर्भिक लागे। १० कक्षा पढ्दा म पनि आफूलाई ठूलै ठान्थें– अरू सबै साना। मास्टर्स अन्तिम वर्ष पढ्दा त आफूजत्तिको महान् कोही पनि लाग्थेन। 

himalayan bank box

म त्रिपुरेश्वरको विश्व निकेतन माविमा पढ्थें। हामीलाई कक्षा ८ देखि १० सम्म नेपाली पढाउने गुरुआमा हुनुहुन्थ्यो, मञ्जु अधिकारी। मञ्जु मिस पछि राष्ट्रकवि भएका कविवर माधवप्रसाद घिमिरेकी सुपुत्री हुनुहुन्थ्यो। उहाँको सिकाउने शैली पूर्ण थियो। प्रस्तुति पनि प्रभावकारी।

सार्वजनिक समारोहमा सम्बोधन गर्दा उहाँको भाषा यति खँदिलो र पूर्ण हुन्छ कि त्यसको तारिफ नगरी रहन सकिँदैन। उहाँ लयमा बोल्नुहुन्छ। भाषा सरल र स्पष्ट। म उहाँको त्यो प्रखर शैलीबाट स्कुले जीवनदेखि नै प्रभावित छु।

मञ्जु मिसको सिकाइ शैली र विद्यार्थीसँगको व्यवहारका बारेमा सुशील ताम्राकारले ‘पिताजीको सुनको तक्मा’ मा वर्णन गरेका छन्। आठ कक्षा पढ्दा आफ्नो नाम पनि शुद्धसँग लेख्न नजान्ने ताम्राकारलाई दस कक्षामा पुग्दा मञ्जु मिसले कसरी सर्वोत्कृष्ट अंक ल्याउने र राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा विजयी बन्न सघाउनुभयो भन्ने प्रसंग पुस्तकमा छ। संयोग भनौं, पुस्तकको भूमिकामा आशीर्वादका शब्द माधवप्रसाद घिमिरेले नै लेख्नुभएको छ।

मञ्जु मिसले पढाउने क्रममा हामीलाई बुबा र कविशिरोमणिसँग जोडिएका केही रोचक किस्सा पनि सुनाउनुहुन्थ्यो। ती किस्सामध्ये एउटा थियो– कविशिरोमणि लेखनाथ पौड्यालले दाह्रीमा मोही दलेको कुरा। मञ्जु मिस सानोमा बुवा कविसँगै लेखनाथको घर जाँदा कविशिरोमणिले दाह्रीमा मोही दलिरहेका रहेछन्। दाह्री मुलायम बनाउन उनले त्यसरी मोही दल्ने गरेको कुरा मिसले हामीलाई सुनाउनुभएको थियो। कविशिरोमणिसँग जोडिएका यस्ता अनेक किस्सा सुनाएर हामीलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो मञ्जु मिस।

vianet

मिसले बेलाबेलामा बुवा कवि (माधव घिमिरे) सँग सम्बन्धित किस्सा पनि सुनाउनहुन्थ्यो। २८ वर्षअघि २०५० सालको एसएलसी ब्याचको कक्षामा कुनै दिन कक्षामा माधवप्रसाद घिमिरेको प्रसंग निस्क्यो। मस्र्याङ्दी नदी नरमाइलोसँग सुसाइरहेको सन्दर्भ आयो। कविवरको जन्मस्थल लमजुङको पुस्तुन गाउँ नजिकैबाट सो नदी बग्ने कुरा मिसले भन्नुभएको थियो।

उहाँले सुनाउनुभयो– नेपाल टेलिभिजनले कविवरको जन्मस्थानको दृश्य खिचेर ल्याएको छ तर प्रसारण गरेको छैन। यो त्यति बेलाको कुरा हो जतिबेला देशमा एउटा मात्रै टेलिभिजन स्टेसन थियो, राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजन। अहिलेजस्तो सामाजिक सञ्जाल त आममानिसको कल्पनामा थिएन।

सो भिडियो किन नदेखाएको भनेर सोध्दा टेलिभिजनले उहाँहरूलाई भनेछ– अहिले देखाउने होइन, पछि महत्त्वका बेला देखाइनेछ।  टेलिभिजनले उहाँहरूलाई दिएको जवाफको सोझो अर्थ थियो– कविवर बितेपछि मात्र डकुमेन्ट्री देखाइनेछ। मिसले त्यति भनिनसक्दै उहाँका गला अवरुद्ध भए। बोली पूरा भएन। आँखामा आँसु बगे। उहाँ प्रायः सेतो हाते रुमाल बोक्नुहुन्थ्यो। त्यही रुमालले आँखा पुछ्नुभयो। नेपाल टेलिभिजनको निर्दयी कुरा सुनाउँदै मिस रोएपछि हामी विद्यार्थीलाई पनि नरमाइलो लाग्यो। चुपचाप भयौं। 

डकुमेन्ट्रीले मलाई दस कक्षाको त्यो दिनको सम्झना गरायो– जब मिस चित्त दुखाएर रुनुभएको थियो। मैले सोचें– कविवर मरेपछि सो डकुमेन्ट्री प्रसारण गर्ने टेलिभिजनलाई कविवरले लोप्वा खुवाइदिनुभएछ, धेरै आयु बाँचेर।

समय बित्दै गयो। स्कुले जीवन सकियो। मिसबाट म पनि टाढाँ भएँ। २०५४/५५ सालको एक दिन नेपाल टेलिभिजनमा कविवरको पुस्तुनको घरसहितको डकुमेन्ट्री प्रसारण भइरहेको देखें। डकुमेन्ट्रीले मलाई दस कक्षाको त्यो दिनको सम्झना गरायो– जब मिस चित्त दुखाएर रुनुभएको थियो। मैले सोचें– कविवर मरेपछि सो डकुमेन्ट्री प्रसारण गर्ने टेलिभिजनलाई कविवरले लोप्वा खुवाइदिनुभएछ, धेरै आयु बाँचेर।

यी त भए पुराना कुरा। नयाँ कुराचाहिँ कविवर राष्ट्रकवि हुनुभएको थियो। आफूले सानैदेखि सुनेकाले होला ‘कविवर’ जत्तिको प्यारो, ‘राष्ट्रकवि’ कहिल्यै लागेन। जसले त्यो उपाधि दियो तीसँग पनि कुनै गुनासो पनि छैन। तर मनमा उठिरहने प्रश्न के हो भने के ‘कविवर’ भन्ने सम्मानले उहाँलाई सामुदायिक, साम्प्रदायिक, क्षेत्र विशेषमा सीमित गरेको थियो र?

अर्को कुरा उहाँले शतायु वर्ष पूरा गर्नुभएको थियो। नेपाल टेलिभिजनले मर्ला भनेर गरेको अनुमानलाई कविवरले झुटो साबित गरिदिनुभयो। त्यो पनि २७ वर्ष थपेर।


बुबा राष्ट्रकवि माधवप्रसाद घिमिरे र आमा महाकाली घिमिरेका साथ मञ्जु अधिकारी (बीचमा) 

महाभारतको वन पर्वमा यक्ष र युधिष्ठिरबीच संवाद छ। यक्षले धर्मराज युधिष्ठिरलाई केही जटिल प्रश्न सोध्छन्। त्यही भएर अहिलेसम्म उत्तर दिन गाह्रो प्रश्नलाई यक्ष प्रश्न भनिँदै आएको छ। यद्यपि युधिष्ठिरले त तिनको जवाफ सजिलै दिएका थिए। संवादमा यक्षको एउटा प्रश्न छ– संसारको सबभन्दा ठूलो आश्चर्य के हो?

युधिष्ठिर भन्छन्– यो संसारमा मान्छेहरु मर्नुपर्छ भन्ने थाहा पाउँदै पनि सधैं बाँचिरहन चाहन्छन्। यो भन्दा ठूलो आश्चर्य के हुन सक्छ?

यता हाम्रा कविवर भने भम्रमा थिएनन्। उनलाई मर्नुपर्छ भन्ने थाहा थियो। म मर्दा यो गीत यसरी गाइयोस् भनेर लेखे– त्यसरी होस् मरण...। लयबद्ध गराए। अर्थात् उनको मर्ने योजना तयार थियो।

जेन दर्शनले भन्छ– सचेत हुनु, सजग हुनु। अस्तित्वप्रति सचेत, जीवनप्रति सजग। जो सचेत र सजग जीवन बाँच्छ उही विपश्वी हो, उही योगी हो। हाम्रा कविवरले पनि होसपूर्वक जीवन बिताए। तसर्थ उनी योगी सरह छन्।

बेहोसी त हामी छौं, समाज छ। समाज भन्छ– तेरो यो तस्बिर जुन लिएँ, त्यो तँ मरेपछि सार्वजनिक गर्छु। मानौं ऊ अजम्बरी छ र हामी नश्वर।

सरल र सरस साहित्यको नेपाली हिमनदी कविवरको अवसानसँगै सुक्यो। एक वर्षअघि आजैका दिन अर्थात् २०७७ भदौ २ मा कविवरले १ सय २ वर्षको उमेरमा शरीर बिसाउनुभयो। कविताका सच्चा वर नै थिए कविवर। राष्ट्रले नै मानेको कविलाई हार्दिक श्रद्धान्जली!!!

प्रकाशित: Aug 18, 2021| 11:30 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।