काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत सभापति बन्ने विश्वास व्यक्त गरेका छन्।
आइतबार, काँग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औं महाधिवेशनमा स्वीकार्य सभापतिको रुपमा स्थापित हुने विश्वास गरेका थिए।
उनले भने- '१५औँ राष्ट्रिय महाधिवेशनबाट सिंगो नेपाली कांग्रेसको स्वीकार्य सभापतिका रूपमा स्थापित हुनुहुन्छ भन्ने विश्वास र अपेक्षाका साथ शुभकामना व्यक्त गर्न चाहन्छु।'
उनले विगतमा काँग्रेससँग मिलेर आन्दोलन गर्दै देशमा गणतन्त्र स्थापना गरेको सम्झना गर्दै अहिले फेरी एक भएर अगाडी बढ्नुपर्ने अवस्था आएको बताए। उनले भने- 'पहिले निरंकुशताको अन्त्यका लागि कांग्रेसले वामपन्थीसँग सहकार्य गरेको थियो। लोकतन्त्रको रक्षाका लागि अब सहकार्य गर्छ वा गर्दैन भन्ने प्रश्न आएको छ।'
नेता पोखरेलले जननिर्वाचित सरकार संसद्प्रति उत्तरदायी नभएको, नागरिकप्रति जबाफदेही नभएको भन्दै लोकतन्त्रमा खतरा उत्पन्न भइरहेको टिप्पणी गरेका थिए।