कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुडिएको छ।
बुधबार बिहान पुलको बीचको एक पोल महाकाली नदीले बगाएपछि पुल चुडिएको हो।
महाकाली नदीमाथि निर्माण गरिएको यो पुल दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महत्वपूर्ण संरचना रहेको थियो। नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ।
पुलको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ। महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी क्षेत्रलाई जोड्ने यो पुलले भारत–नेपाल सीमासँग जोडिएको नेपाली भूभागमा आवतजावत सहज बनाउँदै आएको थियो।
यो पुल भीमदत्त नगरपालिकाबाट करिब १२ किलोमिटर दक्षिणपश्चिममा, महाकाली बाँधभन्दा करिब ८ किलोमिटर तल तथा भारतीय सीमाबाट करिब ५.५ किलोमिटर दक्षिणतर्फ रहेको छ। दोधारा–चाँदनी झोलुङ्गे पुलमा २०६२ सालदेखि आवतजावत शुरु भएको थियो।