मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चालू आवको पहिलो महिनामा बीमा कम्पनीद्वारा पौने ७ अर्ब दाबी भुक्तानी, अझै बाँकी कति? 

चालू आवको पहिलो महिनामा बीमा कम्पनीद्वारा पौने ७ अर्ब दाबी भुक्तानी, अझै बाँकी कति? 

 |  मंगलबार, असोज १३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०८३

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना अर्थात् साउन महिनामा पौने ६ अर्ब बढी बीमा दाबीबापत भुक्तानी भएको छ। चालू आवको साउनमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले ६ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ दाबीबापत भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार उक्त रकम ३९ हजार ९० वटा दाबीको भुक्तानीमा खर्च भएको हो।

अघिल्लो आर्थिक वर्षको साउनमा ३८ हजार ५२९ वटा दाबीमा ६ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ भुक्तानी भएको थियो।समीक्षा महिनामा जीवन बीमा कम्पनीहरूले मात्रै ५ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यो रकम २८ हजार १२१ वटा दाबीमा भुक्तानी गरिएको हो। 

गत वर्षको साउनमा जीवन बीमकहरूले २८ हजार ५९ वटा दाबीमा पाँच अर्ब नौ करोड ८३ लाख रुपैयाँ तिरेका थिए।यसपटक जीवन बीमातर्फ भुक्तानी भएका दाबीको संख्या ०.२२ प्रतिशतले बढेको छ भने भुक्तानी रकम ७.३६ प्रतिशतले उक्लिएको छ। अर्थात् दाबीको संख्यामा खासै ठूलो अन्तर नदेखिए पनि कम्पनीहरूले भुक्तानी गरेको रकम भने अघिल्लो वर्षको तुलनामा उल्लेख्य बढेको छ। 

निर्जीवन बीमकहरूले १० हजार ९६९ वटा दाबीमा एक अर्ब ३१ करोड तीन लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत वर्षको साउनमा १० हजार ४७० वटा दाबीमा एक अर्ब ६५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

यसपटक निर्जीवन बीमातर्फ भुक्तानी भएका दाबीको संख्या ४.७७ प्रतिशतले बढे पनि भुक्तानी रकम २०.६६ प्रतिशतले घटेको छ। अर्थात् दाबी फर्छ्योटको संख्या बढ्दा पनि कम्पनीहरूले तिरेको कुल रकम भने अघिल्लो वर्षभन्दा कम भएको छ।

भुक्तानी हुन बाँकी अझै कति?

साउन मसान्तसम्म भुक्तानी हुन बाँकी जीवन बीमाका दाबी एक लाख २५ हजार ६३० पुगेका छन्। यी दाबीमा १० अर्ब १४ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।गत वर्षको सोही अवधिमा ५७ हजार ६०३ वटा जीवन बीमाका दाबी फर्छ्योट हुन बाँकी थिए भने तिनको दाबी रकम ४ अर्ब ६० करोड ६ लाख रुपैयाँ थियो। 

एक वर्षमै बाँकी दाबी संख्या ११८.१० प्रतिशत र रकम १२०.५६ प्रतिशतले बढ्नुले जीवन बीमा क्षेत्रमा दाबी व्यवस्थापनको चाप बढेको देखाउँछ। उता, निर्जीवन बीमामा पनि फर्छ्योट हुन बाँकी दाबीको संख्या र रकम बढेको छ। 

साउन मसान्तसम्म एक लाख १० हजार ६५० वटा दाबी भुक्तानी हुन बाँकी छन्। यी दाबीमा ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको दायित्व बाँकी रहेको तथ्यांकले देखाएको छ। गत वर्षको साउन मसान्तमा निर्जीवन बीमकसँग एक लाख ९०८ वटा दाबी फर्छ्योट हुन बाँकी थिए।

प्रकाशित: Sep 29, 2026| 18:16 मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्