सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीको मारमा विद्युत् क्षेत्र : ४३० मेगावाट प्रणालीबाहिर, ७४ अर्बको क्षतिको प्रारम्भिक अनुमान

बाढीको मारमा विद्युत् क्षेत्र : ४३० मेगावाट प्रणालीबाहिर, ७४ अर्बको क्षतिको प्रारम्भिक अनुमान

 |  सोमबार, असोज १२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०८३

काठमाडौं। असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुगेको छ। बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही विद्युत् उत्पादन केन्द्र सञ्चालनमा आएका छन् भने क्षतिग्रस्त संरचनाका कारण बन्द रहेका केही केन्द्र सञ्चालनमा आउन अझै समय लाग्ने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।

वितरण प्रणालीअन्तर्गत अधिकांश स्थानमा वर्षा रोकिएलगत्तै सम्बन्धित वितरण केन्द्र र ग्रिड सञ्चालन महाशाखाको समन्वयमा विद्युत् सेवा सुचारु गरिएको छ। बाँकी क्षेत्रमा पनि विद्युत् लाइन सञ्चालन गर्न प्राविधिक टोली कार्यक्षेत्रमा खटिएको प्राधिकरणले जनाएको छ।

राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा पानी पसेको छ। सफाइ गरी आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ। स्विचयार्डको अवस्था भने सामान्य रहेको र चार्ज गरिसकिएको छ।

कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा सातवटा जलविद्युत् केन्द्रका १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन। राहुघाट जलविद्युत् केन्द्रको ४० मेगावाटबाहेक १२७ मेगावाट उत्पादन भने सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको जनाइएको छ।

सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र बाढीका कारण अवरुद्ध भए पनि सञ्चालनमा आएका छन्। बाढीका कारण बन्द कालीगण्डकी जलविद्युत् केन्द्रको १४४ मेगावाट उत्पादन आज बेलुकासम्म सञ्चालनमा आउने जनाइएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। बाटो अवरुद्ध भएकाले अन्य क्षतिग्रस्त स्थानको विस्तृत विवरण आउन बाँकी रहेको छ। वर्षाका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पाका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको थियो। म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन र रुकुम पूर्वमा विद्युत् सुचारु भइसकेको छ।

मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म विद्युत् सुचारु गर्ने र मनाङमा भोलिसम्म विद्युत् सेवा सञ्चालन गर्ने योजना रहेको छ।

त्यस्तै, सुखायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ। माग–आपूर्ति सन्तुलनका लागि विभिन्न माध्यमबाट थप १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ। 

ढल्केवर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट विद्युत् आयात गर्ने योजना छ। यसबाट कुल विद्युत् उपलब्धता २ हजार ३७२ मेगावाट पुग्ने अनुमान गरिएको छ।

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३ बी २२० केभी हबमा क्षति पुर्‍याउनुका साथै विभिन्न जलविद्युत् केन्द्रमा क्षति पुगेपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको जनाइएको छ। यस क्षेत्रमा प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित: Sep 28, 2026| 17:32 सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्