आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गत वर्ष निर्जीवन बीमा क्षेत्रबाट ३० लाख बढी पोलिसी बिक्री, कुन कम्पनीको कति?

गत वर्ष निर्जीवन बीमा क्षेत्रबाट ३० लाख बढी पोलिसी बिक्री, कुन कम्पनीको कति?

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

काठमाडौं- गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ३० लाख १ हजार ८१४ वटा बीमा पोलिसी बिक्री गरेका छन्। 

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म २७ लाख ५७ हजार ६७४ वटा पोलिसी बिक्री भएकोमा गत आवमा दुई लाख ४४ हजार १४० वटा पोलिसी वृद्धि भएको छ। बीमा पोलिसी बिक्रीका आधारमा युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा अगाडि रहन सफल भएको छ। यस कम्पनीले असार २०८३ सम्म ४ लाख १९ हजार ५२६ वटा पोलिसी बिक्री गर्दै अघिल्लो आवको तुलनामा १ लाख २० हजार २३७ वटा पोलिसीको ठूलो वृद्धि हासिल गरेको छ। दोस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ लाख ५५ हजार ५०९ वटा पोलिसी जारी गरेको छ जुन अघिल्लो आवको तुलनामा ७५ हजार ८१ ले बढी हो। त्यसैगरी शिखर इन्स्योरेन्सले ३ लाख ३६ हजार २ वटा पोलिसी बिक्री गरी तेस्रो स्थान ओगटेको छ भने चौथो स्थानमा रहेको नेको इन्स्योरेन्सले ३ लाख ५ हजार ९८३ वटा पोलिसी जारी गरेको छ। यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ७० हजार ६८५ वटा पोलिसी बिक्री गरेको छ। 

यद्यपि यो अघिल्लो आवको तुलनामा २८ हजार २९० ले घटेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ लाख ६९ हजार ९९८ वटा पोलिसी जारी गर्दै १ लाख १६ हजार २९४ को उल्लेखनीय वृद्धि हासिल गरेको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ लाख ३७ हजार ७०८ वटा, एनएलजी इन्स्योरेन्सले २ लाख २३ हजार ९११ वटा र नेपाल इन्स्योरेन्सले २ लाख २२ हजार ७४१ वटा पोलिसी बिक्री गरेका छन्। अन्य कम्पनीहरूमा सनिमा जीआईसी इन्स्योरेन्सले १ लाख ४३ हजार २८ वटा पोलिसी जारी गरेको छ। प्रभु इन्स्योरेन्सले १ लाख १४ हजार ६१३ वटा पोलिसी बिक्री गरेको छ भने, ओरिएन्टल इन्स्योरेन्सले ४८ हजार ९४६ वटा पोलिसी जारी गरेको छ। 

त्यसैगरी राष्ट्रिय बीमा कम्पनीले ३२ हजार ३४३ वटा पोलिसी बिक्री गरेको छ भने सबैभन्दा कम पोलिसी बिक्री गर्नेमा नेशनल इन्स्योरेन्स रहेको छ जसले २० हजार ८२१ वटा पोलिसी जारी गरेको छ। यसरी समग्रमा १४ निर्जीवन बीमा कम्पनीहरूको पोलिसी बिक्री संख्या विश्लेषण गर्दा केही कम्पनीहरूको व्यवसायमा संकुचन आए तापनि युनाइटेड अजोड, सगरमाथा लुम्बिनी र हिमालयन एभरेष्ट जस्ता अग्रणी कम्पनीहरूको तीव्र वृद्धिका कारण निर्जीवन बीमा क्षेत्रको समग्र पोलिसी बिक्री संख्यामा सकारात्मक सुधार देखिएको छ। यसले निर्जीवन बीमा कम्पनीहरूको समग्र बीमा व्यवसाय अघिल्लो वर्षको तुलनामा बढ्दै गएको देखिन्छ।

प्रकाशित: Sep 27, 2026| 13:34 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्