शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चाडपर्वमा उपभोक्ता ठगीबाट रोक्न बजार अनुगमनमा तीव्रता

चाडपर्वमा उपभोक्ता ठगीबाट रोक्न बजार अनुगमनमा तीव्रता

 |  शनिबार, असोज १०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०८३

काठमाडौं। नेपालीको महान् चाडपर्व दसैँ र तिहार नजिकिएसँगै उपभोक्ता ठगी, कालोबजारी तथा अनुचित व्यापारिक क्रियाकलापहरू हुने गर्दै छ। 

व्यापारीहरूले कमाउने मौका यहीँ हो, भन्दै उपभोक्तालाई म्याद गुज्रेका वस्तु बिक्री, नापतौलमा ठगी अस्वाभाविक मूल्य वृद्धिलगायतका क्रियाकलापहरू हुने गर्छ। तर, चाडपर्वको बेला उपभोक्ता ठगिनबाट बच्नका लागि सरकारी निकाय र उपभोक्ताको हितमा काम गर्ने गैरसरकारी निकायले बजार अनुगमनलगायत विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ। 

चाडपर्वलक्षित बजार अनुगमनलगायत उपत्यकामा भित्रिने विभिन्न मालसामानलाई आपूर्तिका लागि सहज व्यवस्था मिलाइएको वाणिज्य विभागले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार चाडपर्वलक्षित व्यवसायहरूले मालसामान आपूर्तिका लागि माग गरे अनुसार अनुमति दिइएको छ।

एजेन्सी प्राप्त अनुमति प्राप्त संस्थाहरूलाई दैनिक उपभोगीय वस्तु आपूर्तिका लागि अनुमति दिइरहेको उनले बताए। चाडपर्वमा दैनिक उपभोगीय वस्तुको माग बढे सँगै मूल्यमा वृद्धि हुने भएकाले मूल्य वृद्धिलाई रोक्नका लागि विभिन्न व्यवसाय सँगै निरन्तर छलफल संवाद गरिरहेको उनको भनाइ छ। 

चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्रताका साथै अगाडि बढाइएको वाणिज्य विभागले जनाएको छ। अरू बेला भन्दा चाडपर्वलक्षित बजार अनुगमनमा टोलीसमेत थप गरेर बजार अनुगमनलाई तीव्रताका साथ बढाइएको छ। 

उनका अनुसार अहिले बजार लक्षित अनुगमन भनेर उपत्यकामा ११ वटा टोली बजार अनुगमनका लागि खटाइएको छ। एक महिनादेखि बजारमा दैनिक ११ वटा टोलीले बजार अनुगमन गरिरहेको उनले बताए। 

उनले भने,‘एउटा टोलीमा चारदेखि पाँच जना गरेर ५४ जना कर्मचारी बजार अनुगमनमा दैनिक गहिरहेका हुन्छन्। नियमित रूपमा तीनदेखि चार वटा टोली गहिरहेका हुन्छन्। हामीले चाडपर्वलक्षित भनेर जहिले पनि दुई महिनादेखि तीन महिनासम्म बजार अनुगमनका लागि टोली खटाउँछौँ।’ 

बजार अनुगमनका लागि विभाग सँगै पर्याप्त मात्रामा जनशक्ति नहुँदा अन्य निकायको सहयोगमार्फत पनि चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्रता दिइरहेको छ। उनले भने,‘यसपालि बजारमा अलि बढी टोली खटाएका छौँ। हाम्रो आफ्नो जनशक्ति त पुग्दैन। त्यसैले विभिन्न कार्यालयहरूबाट कर्मचारी काजमा मगाएर भए पनि अहिले हरेक दिन ११ वटा टोली बजारमा जान्छन्। हरेक दिन ५० वटा भन्दा बढी फर्महरूको अनुगमन भइरहेको छ।’ 

चाडपर्वमा बिक्री हुने खाद्यान्नको तौल र गुणस्तर सम्बन्धी सामानबाट उपभोक्ता ठगिनबाट रोक्नका लागि विभिन्न गतिविधिहरू गर्दै आइरहेको गुण नियन्त्रण विभागले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डा बालकुमारी शर्माका अनुसार चाडपर्वलक्षित खाद्यान्न पसल, गोदाम र डेरीलगायत मिठाई पसलहरूमा बढी जोड दिँदै अहिले नियमित बजार अनुगमन भइरहेको छ। चाडपर्वका बेला बजार अनुगमनलाई तीव्रताका साथै लैजाने गरेको उनले बताइन्। 

विभागले नयाँ प्रविधिको प्रयोगमार्फत तत्कालै वा तुरुन्तै खाद्य वस्तु गुणस्तरहीन छ वा छैन भनेर चेकजाँच गर्ने गरेको छ। अहिले बजार अनुगमन गर्दा मोबाइल भ्यानको प्रयोगबाट ठाउँको ठाउँ गुणस्तरीय वस्तु चेकजाँच गर्ने गरेको उनले बताइन्। सानो तिनो चेकजाँच हुने भएकाले हप्ताको दुई/तीन पटक मोबाइल भ्यानको प्रयोगबाट बजार अनुगमन गर्ने गरेको उनको भनाइ छ। दैनिक दुईदेखि तीन वटा टोलीहरू बजार अनुगमनका लागि खटिने गरेको विभागले जनाएको छ। 

बजार अनुगमनका क्रममा गुणस्तरहीन वा दूषित खाद्य वस्तु फेला परेमा नमुना संकलन गरेर ल्याब चेकजाँच गर्ने गरेको उनले बताइन्। ल्याब चेकजाँच विना दूषित अखाद्य वस्तु फेला परेको खण्डमा मुद्दा समेत दर्ता गर्ने गरेको उनको भनाइ छ। 

उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले चाडपर्वमा उपभोगिय खाद्यान्न वस्तुबाट उपभोक्ता नठगिउन्न भनेर विभिन्न माध्यममार्फत जनचेतना मूलक सन्देशहरू दिइरहेको बताए। स्थानीय तह र सहकारी संघ संस्थालगायत विद्यालय स्थिरमा समन्वय सहकार्य गरेर जनचेतना मूलक कार्यक्रमहरू गर्ने गरेको उनले बताए।

प्रकाशित: Sep 26, 2026| 17:16 शनिबार, असोज १०, २०८३
प्रतिक्रिया दिनुहोस्