बुधबार, भदौ २४, २०८३

विपद्‍मा स्वयंसेवामा सक्रिय धिरेन्द्र

 |  बुधबार, भदौ २४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०८३

काठमाडौं । आफ्नो पेशागत जिम्मेवारीसँगै सामाजिक सेवा, स्वयंसेवा, प्रविधि, साइबर सुरक्षा, उद्यमशीलता तथा संस्कृति–सम्पदा र पर्यटनका क्षेत्रमा सक्रिय रहँदै आएका युवा हुन् धिरेन्द्र चन्द सोडारी। उनी पछिल्लो समय विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष स्वयंसेवामा खटिएका छन्।

समाजमा समस्या पर्दा त्यसलाई नजिकबाट बुझ्ने, प्रभावित समुदायसँग पुग्ने र आफ्नो क्षमताअनुसार सहयोग गर्ने सोचका साथ लामो समयदेखि विभिन्न सामाजिक गतिविधिमा सक्रिय सोडारीले पछिल्लो समय रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा सहयोगका कार्यमा सहभागिता जनाएका छन्। उनी भदौ १३ गतेदेखि रसुवा र नुवाकोट पुगेर प्रभावित समुदायसँग प्रत्यक्ष रूपमा जोडिएर सेवा तथा राहत–उद्धारका कार्यमा सक्रिय छन्।

विपद् प्रभावित क्षेत्रमा पुग्दा देखिने पीडा, क्षति र नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा अनुभूति गर्दै सोडारीले सामाजिक सञ्जालमार्फत पनि सकारात्मक सूचना प्रवाह, सहयोगका लागि आह्वान तथा नागरिकस्तरबाट गर्न सकिने सहयोगका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।

सोडारीले नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा सञ्चालन भइरहेको स्वयंसेवा अभियानअन्तर्गत धादिङको गजुरी गाउँपालिका–जरेखेतस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशन पुनःनिर्माण तथा सरसफाइ कार्यक्रममा स्वयंसेवकको भूमिकामा निर्वाह गरे।

विपद्का कारण प्रभावित संरचनाको पुनःस्थापना तथा सरसफाइमा समुदायसँगै हातेमालो गर्दै अझैँ केही दिन स्वयंसेवकका रूपमा काम गर्ने सोडारीको प्रतिबद्धता छ।

उनका लागि स्वयंसेवा कुनै कार्यक्रम वा अभियानमा सहभागी हुने विषय मात्र होइन, विपद्को समयमा आफ्नो ज्ञान, सीप, समय र श्रम समाजका लागि उपयोग गर्ने सामाजिक जिम्मेवारी हो।

उनी भन्छन्, 'विपद्को कठिन घडीमा प्रभावित संरचनाको पुनःस्थापना र समुदायलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हो। सानो योगदानले पनि पुनःनिर्माणको यात्रामा ठूलो अर्थ राख्न सक्छ।'

सोडारीको सामाजिक सेवाको यात्रा पछिल्लो विपद्बाट मात्र सुरु भएको होइन। वि.सं. २०७२ सालको विनाशकारी भूकम्पका बेला पनि उनले विभिन्न समूह निर्माण तथा समन्वय गर्दै उद्धार तथा राहतका कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

त्यस समयमा टिचिङ अस्पताललगायतका स्थानमा पुगेर शव व्यवस्थापन तथा मानवीय सेवाका कार्यमा खटिएको उनको अनुभव स्वयंसेवाको कठिन र संवेदनशील पक्षसँग जोडिएको छ। उक्त समयमा ३०० भन्दा बढी शव व्यवस्थापनमा सहयोग गरेको उनको अनुभवले विपद्को समयमा आवश्यक पर्ने साहस, धैर्य, समन्वय र मानवीय संवेदनशीलताको महत्वलाई झल्काउँछ।

भूकम्पजस्तो ठूलो विपद्मा आफ्नो व्यक्तिगत सहजतालाई भन्दा मानवीय सेवाको आवश्यकता प्राथमिकतामा राखेर काम गर्नु उनको सामाजिक यात्राको महत्वपूर्ण अध्यायका रूपमा लिन सकिन्छ।

सोडारी पेशागत रूपमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत छन्। सूचना प्रविधिको क्षेत्रमा काम गरे पनि उनको रुचि प्रविधिलाई केवल व्यावसायिक प्रयोजनमा सीमित राख्नेभन्दा समाज परिवर्तन र सार्वजनिक हितसँग जोड्नेमा देखिन्छ।

पछिल्लो समय उनी सामाजिक सञ्जालको सदाचारी तथा जिम्मेवार प्रयोग, साइबर सुरक्षा, उद्यमशीलता, प्रविधि, संस्कृति, सम्पदा तथा पर्यटनका क्षेत्रमा विभिन्न गतिविधि तथा पहलसँग जोडिँदै आएका छन्।

विशेषगरी डिजिटल युगमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, गलत सूचना तथा भ्रामक सामग्रीबाट बच्ने विषयमा जनचेतना फैलाउनुपर्ने आवश्यकतालाई उनले जोड दिँदै आएका छन्। उनका लागि प्रविधि केवल सुविधा प्राप्त गर्ने माध्यम नभई ज्ञान, सूचना, अवसर र सामाजिक परिवर्तनको माध्यम पनि हो।

सामाजिक सेवामा उनको सक्रियताको अर्को महत्वपूर्ण पक्ष भनेको आफ्नो पेशागत सीपलाई सामाजिक आवश्यकतासँग जोड्ने प्रयास हो।

सूचना प्रविधि र डिजिटल प्रणालीको ज्ञान भएका कारण उनले प्रविधि, साइबर सुरक्षा र डिजिटल सचेतनाका विषयलाई सामाजिक सेवासँग जोड्दै आएका छन्। आजको समयमा विपद् व्यवस्थापनदेखि राहत वितरण, सूचना सम्प्रेषण, स्वयंसेवक परिचालन तथा समुदायसँगको समन्वयसम्म प्रविधिको महत्वपूर्ण भूमिका हुने भएकाले यस्ता सीपलाई सामाजिक क्षेत्रमा प्रयोग गर्न सकिने उनको धारणा छ।

सोडारीको यात्राले विशेषगरी युवा पुस्तालाई आफ्नो पेशागत जीवनसँगै सामाजिक उत्तरदायित्व बहन गर्न प्रेरित गर्ने देखिन्छ।

व्यवसाय, रोजगारी वा पेशागत सफलतालाई मात्र जीवनको उपलब्धि नमान्ने र आफूले सिकेको ज्ञान तथा प्राप्त गरेको अवसरलाई समुदायको हितमा प्रयोग गर्ने सोच उनको गतिविधिमा देखिन्छ।

विपद् पर्दा सामाजिक सञ्जालमा सहानुभूति व्यक्त गर्नुका साथै सम्भव भएसम्म प्रभावित क्षेत्रमा पुगेर स्वयंसेवा गर्नु, राहत तथा पुनःस्थापनामा हातेमालो गर्नु र सही सूचना प्रवाह गर्नु पनि नागरिक जिम्मेवारी हो भन्ने उनको व्यवहारले देखाउँछ।

रसुवा, नुवाकोट हुँदै धादिङको गजुरीसम्मको पछिल्लो स्वयंसेवा यात्राले सोडारीको सामाजिक सक्रियतालाई थप निरन्तरता दिएको छ।

विपद्ले भौतिक संरचना मात्र क्षति गर्दैन, यसले मानिसको जीवन, मनोबल र समुदायको सामाजिक संरचनामा समेत असर पुर्‍याउँछ। यस्तो अवस्थामा सरकारको प्रयाससँगै नागरिक, युवा, स्वयंसेवी संस्था तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता आवश्यक हुन्छ।

यही भावनाका साथ सोडारीले आफ्नो समय र श्रम स्वयंसेवामा समर्पित गरिरहेका छन्।

'सामाजिक सेवा कुनै पद, प्रचार वा औपचारिक जिम्मेवारीमा मात्र सीमित हुँदैन। कठिन समयमा प्रभावित मानिसको छेउमा उभिनु, आवश्यक ठाउँमा श्रमदान गर्नु, सही सूचना फैलाउनु र पुनःनिर्माणमा हातेमालो गर्नु नै वास्तविक सामाजिक उत्तरदायित्व हो,' उनी भन्छन्।

प्रकाशित: Sep 09, 2026| 17:38 बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्