काठमाडौं। भोटेकोशी बाढीपीडितका लागि वितरण गर्न तयारी अवस्थामा राखिएका राहत सामग्रीमा गम्भीर लापरबाही भेटिएको छ। विपद्मा परेका नागरिकका लागि सहयोग स्वरूप पठाउन लागिएका चामल, आटा, भुजा तथा चिप्सजस्ता खाद्य सामग्री म्याद गुज्रेको र उपभोग गर्न अयोग्य अवस्थामा फेला परेका हुन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंको संयुक्त अनुगमन टोलीले काठमाडौंका विभिन्न पाँच वटा भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य बाहिर आएको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्म राखिएका राहत सामग्रीमा व्यापक कैफियत भेटिएको छ।
विशेष गरी बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीस्थित प्रहरी तालिम केन्द्र र राधा स्वामी सत्सङमा भण्डारण गरिएका राहत सामग्रीमा यस्तो अखाद्य वस्तु भेटिएको हो।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार राहत संकलन र प्याकेजिङ भइरहेका यी स्थानमा म्याद सकिएका वस्तुहरूलाई अन्य असल सामग्रीसँगै वितरणका लागि तयारी अवस्थामा राखिएको थियो।
अनुगमनका क्रममा बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा राहतका लागि प्याकिङ गर्न राखिएका सामग्रीमध्ये यशोदा फुड्स प्रालिको ‘करेन्ट चिप्स’ ३० थान र गिरिधारी फुड प्रडक्टको ‘भुजा’ २१ बोरा म्याद सकिएको अवस्थामा फेला परेका छन्। टोलीले ती सामग्री वितरणमा रोक लगाउँदै छुट्टै ‘एक्स्पायर्ड जोन’ मा राखेर कारबाही अघि बढाएको छ।
त्यसैगरी, सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा भण्डारण गरिएका सामग्रीमध्ये दुई प्याकेट चोकोफन र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद सकिएको अवस्थामा फेला परेको छ। सोही स्थानमा राखिएको ५९ प्याकेट ‘अल इन वान’ दालमोठको उपभोग्य मिति सकिन जम्मा दुई दिन मात्र बाँकी रहेको पाइएपछि त्यसलाई पनि वितरण गर्न अस्वीकार गर्दै एक्स्पायर्ड जोनमा राख्न लगाइएको छ।
यस्तै सामाखुसीकै राधा स्वामी सत्सङमा अनुगमन गर्दा जयश्री उसिना चामलको २५ किलोको एक बोरा म्याद सकिएको अवस्थामा फेला परेको छ। राहतजस्तो संवेदनशील र मानवीय कार्यमा म्याद गुज्रेका सामग्री पठाउँदा पहिले नै मारमा परेका पीडित नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले विभागले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।