काठमाडौं। रसुवा, नुवाकोटलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा आश्रयविहीन नागरिकको संरक्षणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालयले विशेष पहल अघि बढाएको छ।
मन्त्रालयले बाढी प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्दै उनीहरूको आवश्यकता र संवेदनशीलताअनुसार छुट्टाछुट्टै स्थानमा सुरक्षित अस्थायी बसोबास तथा संरक्षणको व्यवस्था गरेको जनाएको छ।
ज्येष्ठ नागरिकका लागि समाज कल्याण केन्द्र, वृद्धाश्रम, पशुपति, काठमाडौंमा व्यवस्था गरिएको छ। आवश्यक परे ९८४१४६०८४६ र ९८४९६०७१०२ मा सम्पर्क गर्न सकिनेछ।
त्यस्तै, महिलाका लागि समाज कल्याण परिषद्को भवन, बुढानीलकण्ठमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ। यसका लागि ९८४१६१४५८६ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
त्यसैगरी, बालबालिकाका लागि गोदावरी–२, ठेचो, ललितपुरमा व्यवस्था गरिएको छ। त्यसका लागि ९८४३०२१४७१ र ९८४१३८६८७१ मा सम्पर्क गर्न सकिनेछ भने अपाङ्गता भएका व्यक्तिका लागि ९८६००९७८९९ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बाढीका कारण आश्रयविहीन तथा जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक संरक्षण उपलब्ध गराउने र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।
प्रभावित नागरिकको सुरक्षा, संरक्षण र सुरक्षित अस्थायी बसोबास सुनिश्चित गर्न सम्बन्धित संघसंस्था तथा सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको मन्त्रालयले जनाएको छ।