काठमाडौं। पिपल्स क्याम्पसले आफ्नो पुरानो विरासतलाई जोगाउँदै व्यवस्थापन शिक्षातर्फको यात्रालाई जारी राख्न अनुसन्धानमा जोड दिने जनाएको छ। व्यवस्थापन संकायको अध्यापनमा आफ्नो छुट्टै पहिचान र विशिष्टता कायम राख्दै आएको ४५ वर्ष पुरानो पिपल्स क्याम्पसले स्मार्ट अध्ययन अध्यापन र अन्तरक्रियात्मक पठन विधिका सार्थ अनुसन्धानलाई नियमित कार्यक्रममा समावेश गर्ने जनाएको हो।
राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा सो जनाइएको हो। मुनाफा वितरण नगर्ने संस्थाका रूपमा सञ्चालित क्याम्पसले कायम गरिरहेको नजिता र गुणस्तरलाई अबका दिनमा पनि जारी राख्न नवीनतम् प्रयासलाई जारी राखिने क्याम्पस प्रमुख रोजेश पण्डितले बताए।
मुनाफा वितरण नगर्ने सामुदायिक संस्था भएकाले क्याम्पसले न्यूनतम शुल्कमा गुणस्तरीय शैक्षिक गुणस्तर कायम गर्दै आएको छ। हिजोका दिनमा विद्यार्थीलाई मात्र अब्बल परिणाम हासिल गर्न सघाए पुग्ने वातावरण थियो भने अब प्राध्यापनमा संलग्न जनशक्तिलाई पनि अनुसन्धान लगायतको वृत्ति विकासमा संलग्न गराउनुपर्ने चुनौती रहेको उनले बताए।
क्याम्पसमा ११ र १२ को कक्षाबाहेक बिबिए, बिबिएम, बिबिएस, एमबिएसको कक्षा सञ्चालन भइरहेको छ। यस वर्ष भर्ना भएका बिबिए, बिबिएम, बिबिएसका विद्यार्थीलाई स्वागत तथा सोही तिन धारका २०७८ को ब्याचलाई बिदाइ गर्न आयोजित कार्यक्रममा क्याम्पसले काठमाडौं महानगरपालिका र त्रिभुवन विश्वविद्यालयबाट उपलब्ध हुने नियमित छात्रवृत्तिबाहेक पनि थप छात्रवृत्ति उपलब्ध गराइने जनाएको छ। ‘पिपल्स क्याम्पसका विद्यार्थी नियमित डिन लिस्टमा पर्न सफल भएको तथ्यले हाम्रो गुणस्तर राम्रो भएको पुष्टि गर्छ,’ क्याम्पस प्रमुख पण्डित भन्छन्, ‘त्यसलाई कायम गर्न हामी प्रविधिलाई साथमा लिएर अघि बढ्छौं।’
विद्यार्थी र शिक्षकहरुको सर्वांगीण विकासका लागि क्याम्पसले नियमित रुपमा व्यवस्थापन सम्मेलन पनि गर्दै आएको छ। प्राज्ञिक अनुसन्धानलाई निरन्तरता दिने उद्देश्यले गरिँदै आएको राष्ट्रिय व्यवस्थापन सम्मेलन यस वर्ष पनि आयोजना गरिने जनाइएको छ। विद्यार्थीहरूलाई अनुसन्धान अभिमुखीकरण गर्ने उद्देश्य राखिएको सो सम्मेलन क्याम्पसको नियमित कार्यक्रम हो। त्यसबाहेक क्याम्पसले विज्ञसँगको संवाद, डिजिटल साक्षरता, पुस्तक अन्तरक्रिया जस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ।
हाल क्याम्पसमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शैक्षिक कार्यक्रमहरुमा ४ वर्षे वीवीएस तथा सेमेस्टर प्रणालीअन्र्तगत ४ वर्षे वीवीए, वीवीएम र सेमेष्टर प्रणाली अन्र्तगत २ वर्षे एमबीएसका कक्षाहरु सञ्चालनमा रहेका छन् भने कम्प्युटर साइन्सअन्तर्गतको बिआइटीको कार्यक्रमका लागि आवश्यक तयारीका साथ विश्वविद्यालयमा निवदेन दिएको छ।
हालै प्रकाशित परीक्षाफलमा क्याम्पसका बिबिएमका विद्यार्थी सुरजकुमार गुप्ताले ३.९६ ग्रेड हासिल गर्दै बिबिएममा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए। यसअघि पनि पिलल्स क्याम्पसका बिबिएमका विद्यार्थी रोजिन महजर्नले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। त्यस्तै बिबिएतर्फ आयुशा अधिकारी र सुदीप पाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै पिपल्प क्याम्पसको गुणस्तरलाई प्रमाणित गरेका थिए। त्यस्तै, व्यवस्थापन संकायमा त्रिविविमा उत्कृष्ट स्थानमा २०७७ सालको ब्याचका मेरिना कायस्थ र नम्रता कार्की पनि पिपुल्स क्याम्पसका उत्कृष्ट विद्यार्थी थिए।