आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नेपाली श्रमिकका लागि विदेशमा सेल्टर हाउस स्थापना गर्न एनआरएनएको आग्रह

नेपाली श्रमिकका लागि विदेशमा सेल्टर हाउस स्थापना गर्न एनआरएनएको आग्रह

 |  आइतबार, साउन ३१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०८३

काठमाडौं। गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार र सुरक्षित बसोबासका लागि सरकारले सेल्टर हाउस स्थापना गर्नुपर्ने माग गरेको छ।

गोन्जाउमा जारी एसिया प्रशान्त क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा तत्काल राख्ने सुरक्षित स्थान नहुँदा उद्धारमा खटिने एनआरएनए प्रतिनिधिसमेत समस्यामा पर्ने गरेको बताएका छन्।

एनआरएनएले मलेसियालगायत प्रमुख श्रम गन्तव्यमा सेल्टर, अस्पताल र सीप तालिम केन्द्र स्थापना गर्न, श्रमिकलाई कानुनी सहायता र संरक्षण उपलब्ध गराउन तथा वैदेशिक रोजगार राहत कोषको प्रभावकारी उपयोग गर्न सरकारसँग आग्रह गरेको छ।

एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई अनिवार्य सीप सिकाउने व्यवस्था गर्नुपर्ने र एनआरएनए प्रतिनिधिलाई अवैतानिक श्रमिक दूतको मान्यता दिनुपर्ने बताएका थिए।

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले वैदेशिक रोजगारीका विषयमा थप छलफल आवश्यक रहेको भन्दै केही महिनाभित्र नेपालमा बृहत् सम्मेलन आयोजना गर्ने जानकारी दिए।

सम्मेलनमा दक्ष जनशक्ति उत्पादन, विदेशमा रहेका श्रमिकको सुरक्षा, उद्धार, कानुनी सहायता र स्वदेश फर्किएका श्रमिकको पुनःएकीकरणका विषयमा सरकार, निजी क्षेत्र र एनआरएनएबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।

प्रकाशित: Aug 16, 2026| 18:26 आइतबार, साउन ३१, २०८३
प्रतिक्रिया दिनुहोस्