शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मन्त्री तिमिल्सिनाबाट नुवाकोटमा पहिरो प्रभावित बस्ती निरीक्षण, स्थानान्तरणको पहल

मन्त्री तिमिल्सिनाबाट नुवाकोटमा पहिरो प्रभावित बस्ती निरीक्षण, स्थानान्तरणको पहल

 |  शनिबार, साउन ३०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०८३

काठमाडौं। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका पहिरो प्रभावित तथा जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षण गर्दै जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गर्ने बताका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोली लिएर उनले सूर्यगढी गाउँपालिका–२ का राम्चे भिर, रातामाटे र पहरेथोकलगायत क्षेत्रको निरीक्षण गरेका हुन्। पहिरोका कारण पहरेथोक, फट्पुर, सेमराङलगायत बस्ती जोखिममा रहेको जनाइएको छ।

मन्त्री तिमिल्सिनाले जोखिमयुक्त बस्तीको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताए। उनले तत्काल अस्थायी आवास, राहत र सुरक्षित आवतजावतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए।

पहिरोका कारण सडक तथा विद्युत् संरचनामा पुगेको क्षति पनि उनले निरीक्षण गरे। अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन, विद्युत्का क्षतिग्रस्त संरचना मर्मत गर्न तथा जोखिमयुक्त क्षेत्रमा वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरे।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गरिएको छ। थप भूगर्भीय अध्ययनपछि दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।

मन्त्री तिमिल्सिनाले दुप्चेश्वर गाउँपालिका–३ सरमथलीको पहिरो क्षेत्रको समेत निरीक्षण गरेका छन्। उनले तादी गाउँपालिका–३ अल्छेढुङ्गना र शिवपुरी गाउँपालिका–६ अखौलीका पहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ। स्थानीयले सडक, विद्युत्, दूरसञ्चार, पहिरो नियन्त्रण तथा सुरक्षित बस्ती व्यवस्थापनमा ध्यान दिन माग गरेका छन्।

प्रकाशित: Aug 15, 2026| 19:06 शनिबार, साउन ३०, २०८३
प्रतिक्रिया दिनुहोस्