शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, केहीमा रात्रीकालीन आवागमन रोक

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, केहीमा रात्रीकालीन आवागमन रोक

 |  शनिबार, साउन ३०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०८३

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा सडक कटान हुँदा प्रमुख राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका सडकमा सवारी आवागमन प्रभावित भएको छ।

प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

यसैगरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भूक्षय तथा पहिरोका कारण घोराही–थबाङ सहिद मार्गका दुई स्थान अवरुद्ध भएका छन्।

अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 15, 2026| 08:16 शनिबार, साउन ३०, २०८३
प्रतिक्रिया दिनुहोस्