काठमाडौं- पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
त्यस्तै, श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुइटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको ६ वटा सिपियू पनि अदालतमा ल्याउन आदेश दिएको छ।
श्रेष्ठलाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। बिहीबार जिल्ला अदालत काठमाडौंले श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ।
उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा एक महिलाले जाहेरी दिएपछि प्रहरीले बुधबार राति पक्राउ गरेको थियो।