बाजुरा- बाजुरामा अविरल वर्षाले गर्दा घर माथिबाट पहिरो गएको छ। पहिरो जाँदा त्रिवेणी नगरपालिका ९ बस्ने कर्ण बहादुर थापाकी छोरी अन्दाजी २० वर्षीय प्रतीक्षा थापा बेपत्ता भएकी छन्।
सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षका धर्म थापा र धौली देवी रावल घाइते छन्। बिहीबार राति देखिको अविरल वर्षापछि ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
पहिरोले घर पुरिँदा सोही घरका दुई जना घाइते भएका छन्। भने एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए।घाइते भएकाहरूलाई उपचारको लागी जिल्ला अस्पताल पठाइएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेश्वरी बोहराको कमाण्डमा १७ जना प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको छ।
घाइते धर्म थापाको बायाँ खुट्टा र शरीरमा चोट लागेको छ। त्यस्तै डम्म थापाकी छोरी अन्दाजी ४० बर्षिया धौली देवी रावलको टाउको, शरीरमा र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाले बाजुराका सडकखण्डहरु हिलाम्मे भएका छन्। ठाउँ ठाउँमा पहिरो गई आवतजावतमा असहजता थपिएको छ। बाजुरामा डेढ सय बस्ती बाढी पहिरोको जोखिममा छन्।
यहाँको बुढी गङ्गा, खप्तड छेडेदह, त्रिवेणी, गौमुल, बडिमालिका, बुढी नन्दा, स्वामिकार्तिक, जगनाथ र हिमाली गाउँपालिका गरेर करिब डेढ सय बढी बस्ती बाढी पहिरोको जोखिममा छन्।
जिल्लाका ९ वटै स्थानीय तहका १५० बढी गाउँ बस्ती बाढी पहिरोको उच्च जोखिममा रहँदै आएका हुन्।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार जिल्लाका ९ वटै स्थानीय तह उच्च जोखिममा छन्। करिब १५० बढी बस्ती बाढी पहिरो जस्ता विपद्जन्य घटनाको उच्च जोखिममा रहेका छन्।