शुक्रबार, साउन २९, २०८३

मोदी खोलामा भीषण बाढी: सडक र विद्युतको पोल बगायो

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

पोखरा- कास्की र पर्वत भएर बग्ने मोदी खोलामा राति आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीस्थित तमु चोक आसपास सडकको बेसै बगाएको छ भने आसपासका धेरै घर तथा बस्ती जोखिममा परेका छन्।

बाढीका कारण नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्डको वीरेठाँटी नजिकैको सडक पूर्ण रूपमा बगेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। पछिल्लो समय लगातारको वर्षासँगै आएको बाढी र पहिरोले उक्त सडकखण्डका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ।

यसैबीच, अविरल वर्षापछि मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। अन्नपूर्ण गाउँपालिका-६ हाईजुङस्थित मन्दिरमा बाढी आएपछि पुजारीसहित तीन जना फसेका थिए। उनीहरूलाई उद्धार गरिएको हो।

बाढीका कारण विद्युत् प्रसारणमा समेत असर परेको छ। मोदी विद्युत् उपकेन्द्रदेखि कुश्मा विद्युत् उपकेन्द्र जाने ३३ हजार भोल्टको प्रसारण लाइनअन्तर्गत पातीचौरमा मोदी खोलाले पोल बगाएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। हाल दाना विद्युत् उपकेन्द्रबाट वैकल्पिक प्रसारण लाइनमार्फत कुश्मा विद्युत् उपकेन्द्रतर्फ विद्युत् आपूर्ति सञ्चालन गरिएको जनाइएको छ।

प्रकाशित: Aug 14, 2026| 10:29 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्