काठमाडौं- पाटन सबस्टेशनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलि बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भोलि भाद्र २९ गते बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरी सटडाउन लिन लागिएको हो। सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सबस्टेशनको ६६ केभी बसबारमा आवश्यक मर्मतसम्भार तथा प्राविधिक काम सम्पन्न गर्न सटडाउन लिन लागिएको हो। मर्मतसम्भारको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिने प्राधिकरणले जनाएको छ।
विद्युत् सेवा अवरुद्ध हुने अवधिमा सम्बन्धित क्षेत्रका ग्राहकलाई आवश्यक तयारी गर्न प्राधिकरणले आग्रह गरेको छ। मर्मतसम्भार कार्य विद्युत् प्रणालीलाई सुरक्षित तथा भरपर्दो बनाउन आवश्यक भएकाले छोटो समयका लागि विद्युत् आपूर्ति बन्द गर्नुपरेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै मर्मतसम्भारपछि सेवा नियमित र भरपर्दो रूपमा सञ्चालन हुने जनाएको छ।