प्युठान- प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको छ।
बिहीबार बिहान करिब ७: ३० बजे माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र ठेगाना नखुलेका पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै स्वर्गद्वारी–९ जुडापाटामा करिब १२–१३ वर्षीय बालकको शव, स्वर्गद्वारी–३ किमिचौरमा कम्मरमाथिको भाग मात्र रहेको पुरुषको शव र स्वर्गद्वारी–४ गोठीबाङमा एक महिलाको शव फेला परेको छ।
त्यसैगरी, स्वर्गद्वारी–५ सरोजामा लुङ्ग्री खोलाको किनारमा दुई महिलाको शव फेला परेको छ। तीमध्ये एक शवको बायाँ खुट्टा घुँडामुनिको भाग नभएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान हुन सकेको नसकेको र प्रहरीले घटनाबारे थप अनुसन्धान तथा शवको पहिचान गर्ने कार्य जारी राखेको जनाएको छ।
परिवारका कुनै सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानका यी सम्पर्क नम्बर ९८५७८३७०४९ र ९८५७८१५५५५ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।