सिन्धुपाल्चोक- चीनको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ।
आज बिहान करिब ६: ३० बजे लिपिङको पारिपट्टि चीनतर्फको भिरबाट ढुंगामाटोसहितको पहिरो खसेपछि भोटेकोशीको बहाव प्रभावित भएको छ। पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति रोकिएको बताइएको छ। नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने र विपद्जन्य घटना हुनसक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी ड्यामसाइट, झोलुङ्गे, लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे र बलेफी बजार क्षेत्रका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
पहिरोका कारण नदीको बहावमा थप परिवर्तन हुनसक्ने भएकाले भोटेकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क रहन आग्रह गरिएको छ।