सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ करिब ६: ५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड गरिएको टिपर अनियन्त्रित भई पल्टिएको हो।
काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएको टिपरमा सवार बाह्रबिसे नगरपालिका–८ का २९ वर्षीय राजु लामा दुर्घटनाका क्रममा सडक छेउतर्फ हाम फालेका थिए। त्यसलगत्तै टिपर पल्टिँदा उनी त्यसमा च्यापिएका थिए।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पुर्याएको थियो। तर उपचारका क्रममा साँझ ७: ४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणपछि मृतकका बुवा हिराबहादुर तामाङलाई शव जिम्मा लगाएको छ। दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।