काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेश्नल इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रिय महासचिव तपेश्वर यादवले इञ्जिनियरिङ पेसालाई मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउन पेसागत दक्षता तथा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै यादवले इञ्जिनियरिङ पेसालाई राजनीतिक गतिविधिको थलो बनाउन नहुने धारणा राखे। उनले इञ्जिनियरहरू पेसागत रूपमा उत्तरदायी हुँदै आफ्नो क्षमता विकासमा निरन्तर लाग्नुपर्नेमा जोड दिए।
यादवले वर्तमान प्रतिस्पर्धात्मक बजारमा केवल शैक्षिक प्रमाणपत्रले मात्र पर्याप्त नहुने भन्दै इञ्जिनियरहरूले व्यवहारिक ज्ञान, सीप र गुणस्तरीय काममा ध्यान दिनुपर्ने बताए। उनका अनुसार गहिरो अध्ययन र निरन्तर सिकाइले मात्रै इञ्जिनियरिङ क्षेत्रमा दीर्घकालीन सफलता हासिल गर्न सकिन्छ।
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका सभापति इञ्जिनियर गौरी पण्डितले देशभरका स्वतन्त्र इञ्जिनियरलाई संगठित गर्दै संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए।
उनले इञ्जिनियरहरूको पेसागत हक, अधिकार र क्षमता अभिवृद्धिका लागि नेशनल इन्जिनियरर्स एसोसिएसनलाई केन्द्र, प्रदेश तथा जिल्ला तहसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने बताए। आगामी दिनमा इञ्जिनियरिङ क्षेत्रको नेतृत्वमा संगठनको प्रभावकारी उपस्थिति आवश्यक रहेको भन्दै पण्डितले केन्द्रमा समेत संगठनको बलियो उपस्थिति कायम गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा सहभागी इञ्जिनियरहरूले संगठनलाई केन्द्र, प्रदेश र जिल्ला तहसम्म विस्तार गर्दै इञ्जिनियरका पेसागत समस्या तथा आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताएका थिए। अन्तरक्रियाका सहभागीहरूले इञ्जिनियरहरूबीच एकता, सहकार्य र पेसागत अधिकारका लागि साझा अभियान अघि बढाउनुपर्ने निष्कर्ष निकालेका छन्। साथै, बदलिँदो प्राविधिक तथा व्यावसायिक वातावरणअनुसार इञ्जिनियरहरूको क्षमता अभिवृद्धि गर्दै संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउनुपर्नेमा जोड दिइएको छ।