सिरहा- सिरहाको गोलबजारमा हिंसात्मक द्वन्द्व भएको १२ दिनपछि आज सामाजिक सद्भाव र एकताको सन्देश दिन सद्भाव र्याली निकालिएको छ।
गोलबजारमा पछिल्लो समय उत्पन्न तनाव, हिंसा तथा अशान्तिपछि विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा स्थानीयवासीको सहभागितामा र्याली आयोजना गरिएको हो। र्यालीमा सहभागीहरूले आपसी भाइचारा, शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन्।
र्यालीमार्फत गोलबजारको शान्ति र सामाजिक एकता पुनःस्थापित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिइएको छ। सहभागीहरूले कुनै पनि घटनालाई लिएर समुदायबीच वैमनस्य फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्नसमेत आग्रह गरेका छन्।
१२ दिनअघि भएको हिंसात्मक घटनाले गोलबजारको जनजीवनमा त्रास र तनाव सिर्जना गरेको अवस्थामा आजको सद्भाव र्यालीले शान्ति र एकताको वातावरण निर्माणमा सकारात्मक सन्देश दिएको स्थानीयहरूको भनाइ छ।
