काठमाडौं- विश्वमा आर्थिक असमानताको खाडल पनि झन् गहिरिँदै गएको एक अध्ययनले देखाएको छ।
अक्सफामले सार्बजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०१५ देखि २०२५ सम्म विश्वका सबैभन्दा धनी १ प्रतिशत मानिसको कुल सम्पत्ति ३४ खर्ब अमेरिकी डलरभन्दा बढीले बढेको छ। तर सोही अवधिमा अत्यन्त गरिबीमा रहेका मानिसको संख्या अपेक्षित गतिमा घट्न सकेको छैन।
यही बढ्दो असमानताबीच अर्थशास्त्री तथा विभिन्न क्षेत्रका विज्ञहरूले ‘आर्थिक वृद्धिभन्दा बाहिर गरिबी उन्मूलनको मार्गचित्र’ तयार गर्दै अहिले अपनाइएको विकासको ढाँचामाथि प्रश्न उठाएका छन्। उनीहरूले आर्थिक वृद्धि मात्रै गरिबी हटाउने पर्याप्त आधार हुन नसक्ने बताएका छन्।
फोर्ब्सका अनुसार सन् २०२० को जनवरीमा विश्वका धनी व्यक्त एलन मस्कको सम्पत्ति करिब २८ अर्ब अमेरिकी डलर थियो र उनी विश्वका ३५औँ धनी व्यक्ति थिए। त्यसपछि उनको सम्पत्तिमा तीव्र वृद्धि हुँदै अहिले १.११ खर्ब अमेरिकी डलर पुगेको छ।
अक्सफामका अनुसार मस्कको व्यक्तिगत सम्पत्ति मात्रै विश्वको सबैभन्दा गरिब ४६ प्रतिशत जनसंख्या अर्थात् करिब ३ अर्ब ८० करोड मानिसको संयुक्त सम्पत्तिभन्दा बढी छ। सन् २०२५ मा विश्वभर अर्बपतिको संख्या पनि ३ हजारभन्दा माथि पुगेको थियो।
अर्कोतर्फ विश्वका धेरै देशमा गरिबी र आधारभूत सार्वजनिक सेवाको संकट अझै कायम छ। संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनका अनुसार विश्वभर करिब ३ अर्ब ४० करोड मानिस त्यस्ता देशमा बस्छन्, जहाँ सरकारले स्वास्थ्य र शिक्षामा गर्ने खर्चभन्दा ऋणको ब्याज तिर्न बढी रकम खर्च गर्नुपर्छ।
सन् १९९० पछि विश्वमा अत्यन्त गरिबीमा रहेका मानिसको संख्या घटे पनि त्यो कमी अपेक्षित गतिमा हुन सकेको छैन। यसले आर्थिक वृद्धि हुँदै जाँदा त्यसको लाभ स्वतः समाजका सबै वर्गसम्म पुग्छ भन्ने मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ।
यस अवस्थाले आर्थिक वृद्धिको दर मात्र हेरेर मुलुकको विकास मापन गर्नु पर्याप्त नहुने देखाएको छ। सम्पत्तिको वितरण, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा समान पहुँच सुनिश्चित नगरेसम्म आर्थिक वृद्धिले समाजमा रहेको असमानता घटाउनुको सट्टा अझ बढाउन सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्।
