बिहीबार, साउन २१, २०८३

यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व संकलन

 |  बिहीबार, साउन २१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०८३

जनकपुरधाम- आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ। यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व सङ्कलन गरेको हो।   

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट आव २०८२/८३ मा सो कार्यालयले रु ५७ करोड १५ लाख ३० हजार ६३६ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख वासुदेव मल्लले राससलाई बताए। 

 उनले उक्त राजस्व अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु नौ करोड ५४ लाख १३ हजार ३४४ कम सङ्कलन भएको जानकारी दिए। सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु ६६ करोड ६९ लाख ४३ हजार ९८० राजस्व सङ्कलन गरेको थियो। 

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन, आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागले सफ्टवेयर निर्माणका क्रममा ढिलाइ भएको कारण राजस्व सङ्कलनमा कमी आएको बताइन्छ। 

कार्यालय प्रमुख मल्लका अनुसार आव २०८२/८३ मा मोटरसाइकल १६ हजार ९५७ वटा, बस/ट्रक १८७ वटा, टेम्पो/विद्युतीय रिक्सा एक हजार ९०२ वटा, ट्याक्टर एक हजार २२ वटा, जिप/कार २२६ वटालगायत गरी २१ हजार २९४ वटा नयाँ सवारी दर्ता भएको छ। यस अवधिमा नयाँ र वर्ग थप गरी १३ हजार ३३८ जनालाई सवारीचालक अनुमतिपत्र वितरण गरिएको थियो।  

प्रकाशित: Aug 06, 2026| 14:29 बिहीबार, साउन २१, २०८३
प्रतिक्रिया दिनुहोस्