काठमाडौं– तालिवानले अफगानिस्तान कब्जामा लिएपछि मंगलबार नेपाल फर्किएका नेपालीमध्ये एक मात्रै महिला हुन्, सुनिता परियार। उनी मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन्।
टर्मिनलबाट बाहिर निस्किँदा सुनिताको अनुहारमा सुरक्षा र सन्तोषको भाव देखिन्थ्यो। यद्यपि, केही हतास पनि थिइन्। अफगानिस्तानमा देखेका कहालिलाग्दा दृश्य सम्झिँदा अहिले पनि उनको आङ जिरिङ्ग हुन्छ।
‘अफगानिस्तानकोे अवस्था निकै खराब छ। देखेका सबै कुरा त अहिले भन्न पनि सकिन्न। अफगानी जनताको अवस्था दर्दनाक छ,’ सुनिताले सुनाइन्। उनी अफगानिस्तानस्थित अमेरिकी दूतावासमा काम गर्थिन्। उनी करिब दुई वर्षअघि अफगानिस्तान पुगेकी थिइन्। अफगानी सर्वसाधारणमा देखेको डर भयानक रहेको उनले बताइन्। ‘अफगानिस्तानमा सर्वसाधारणले भोगिरहेकोे दैनिकी निकै कष्टकर छ,’ उनले भनिन्। आफू बोल्न सक्ने अवस्थामा पनि नरहेको भन्दै उनी पछि कुरा गरौंला भन्दै साइड लागिन्।
स्वदेश फर्किने क्रममा हिमबहादुर बलामीले काबुलको विमानस्थलमा देखेका दृश्य अझै ताजै छन् मानसपटलमा। ‘नेपालको माटो टेक्न पाउँदा निकै खुसी छु। बालबाल बाँचियो जस्तो लागेको छ,’ उनले भने, ‘तालिवानले पूरै अफगानिस्तान कब्जा गरेपछि त्यहाँ हतास र त्रास बाहेक केही छैन विदेशी नागरिक र सर्वसाधारणको भागाभाग छ। हामी पनि ७२ घण्टापछि नेपाल आइपुगेका छौं। बल्ल राहत महसुस भयो।’
अमेरिकी दूतावास भन्दा खासै बाहिर जानु नपर्ने भए पनि बाहिरको दृश्यले आफू आहत भएको उनले बताए। ‘समाचार सुन्दा र बमगोला बर्सिंदा मन आत्तिन्थ्यो, घर जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो। धन्न बाँचेर घर आइपुगियो,’ उनले सुनाए।
दूतावासबाट काबुलस्थित विमानस्थल पुग्दा त्यहाँ देखिएका दृश्यले उनी झन् मर्माहत भए। विमानस्थलमा ज्यान बचाउन भागिरहेका र विमानलाई छुन खोज्नेहरु देख्दा त्यहाँको अवस्था आफैं थाहा हुने उनी बताउँछन्।
काबुल छाडेको तीन दिनपछि नेपाल आइपुगेका हुन् बलामी। काबुल विमानस्थलबाट कतार, कुवेत हुँदै नेपालीहरु काठमाडौं आइपुगेका हुन्।
विमानस्थल पुग्दासम्म आफूहरु सुरक्षित भएको विश्वास नै नलागेको बलामीले सुनाए। ‘अफगानी जनता सासको भिख मागिरहेका छन्। विमानस्थलमा जहाज आउँदा अफगान छाडेर अन्त जान दौडधुप गर्छन्। तर, सबैलाई कसरी सुरक्षित राख्न सकिन्छ र,’ बलामीले भने, ‘विमानस्थल पुग्दा पनि तालिवानले थुपै्र पटक ड्रोन आक्रमण गर्ने प्रयास गरेको थियो। अब त बाँचियो भन्ने भएको छर जन्मभूमि टेक्दा बाँचेको महसुस भएको छ।’
अफगानी जनताले पाएको दुःख शब्दमा वर्णन गर्न नसकिने बलामीले बताए। भने ‘ज्यानको कुनै भरोसा नै छैन अफगानी जनताकोे। कतिबेला कसरी मर्नुपर्ने हो ! यही छ उनीहरुकोे दिमागमा। त्यही उनीहरु कुदिरहेका छन् विमानस्थलमा ज्यान बच्छ कि भन्ने आशमा। जहाज देख्दा झुन्डिन्छन्, अग्ला–अग्ला पर्खाल नाघ्छन् ज्यान बचाउन। तर उनीहरुले बाँच्नका लागि गरेकोे सबै मेहनत खेर गइरहेको छ।’
बलामीका अनुसार अफगानिस्तानमा रहको अमेरिकी दूतावासमा करिब १ हजार नेपाली कार्यरत छन्। तीमध्ये केही बाहिरिसकेका छन् भने केहि बहिरिने क्रममा छन्। बेलायत र जर्मन दूतावासमा रहेका नेपालीहरुलाई पनि सुरक्षित स्थानतर्फ लगेको भन्ने समाचार सुनेको उनले बताए।
बलामीलगायत ड्युटी बसेकैै अवस्थामा अमेरिकी सेनाको जहाजमा कतार उडेका थिए। उनले साथमा रहेको सामान ल्याउन पनि पाएनन्। ‘नेपाल जान पाउँला–नपाउला, घरपरिवारसाँग भेट होेला–नहोेला केही थाहा थिएन। सुरक्षित तरिकाले नेपाल आइपुग्यौं। यही ठूलो कुरा हो,’ उनले भने।
लालबहादुर पुन मगर दुई वर्षअघि अमेरिकी दूतावासमा काम गर्न अफगानिस्तान पुगेका थिए। उनी तालिवान, अफगानी सैनिक र अमेरिकी सेनाबीच संघर्ष भइरहेकै अवस्थामा अफगानिस्तान पुगेका हुन्। दूतावासका काम गरिरहेका विदेशी नागरिकलाई सुरक्षित स्थानमा लैजान सम्बन्धित निकायले भरपुर प्रयास गरे पनि स्थानीय जनताको भने बिचल्ली भएकोे लालबहादुरकोे भनाइ छ।
‘बाहिरका नागरिक भन्दा पनि स्थानीयकै बढी बिचल्ली भएकोे छ। विमानस्थलको दृश्य देख्दा त मन विचलित हुन्छ। कतिको सडकमा बास भएको छ। धेरै अफगानीले नर्कको जीवन भोगिरहेका छन्,’ उनले सुनाए, ‘अफगानिस्तानमा अहिले त्रास र रोदन बाहेक केही छैन। अधिकांश अफगानी देश छाड्न चाहन्छन् तर उनीहरुलाई लैजाने कसले? कसरी लैजाने?’
जजिरा एयरलाइन्समार्फत मंगलबार बिहान १२७ जना नेपाली काठमाडौं आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा यहाँ ल्याएको हो। उनीहरुको स्वागतमा काठमाडौंस्थित अमेरिकी दूतावासका कर्मचारी विमानस्थल पुगेका थिए।
उनीहरुलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लगेको छ। उनीहरूको आजै एन्टिजेन परीक्षण गरेर होम आइसोलेसनमा पठाइने छ।
अफगानिस्तानमा करिब १५ सय नोपाली रहेको तथ्यांक सार्वजनिक भएकोे छ। तालिबबानले राजधानी काबुल नै कब्जामा लिन थालेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाडिसकेका छन्।