आइतबार, जेठ ३१, २०८३

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

 |  आइतबार, जेठ ३१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३१, २०८३

कैलाली। धनगढी उपमहानगरपालिका-१४ फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानी गरी घरमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आएकी छन्। विगत सात वर्षदेखि रु आठ लाखको लगानीमा उनले सानीडाँडा फूलबारी दुनाटपरी उद्योगबाट दुनाटपरी व्यवसाय गर्दै आएकी छन्। 
 
सुरुमा सामूहिक लगानीमा सञ्चालित सो उद्योगबाट व्यवसाय गर्दै आएकी मगरले व्यवसाय फस्टाउँदै गएपछि व्यक्तिगत लगानीमा व्यवसाय विस्तार गरिन्। उनले भनिन्, “अनुदानसहित रु एक लाख ५० हजार लगानीमा गाउँका २० जना महिलासँगको साझेदारीमा दुनाटपरी उद्योग सञ्चालन गरेका थियौँ। पछि काम सिक्दै गए र आम्दानी मनग्य हुन थालेपछि एक्लैले व्यवसाय गर्दै आएको हुँ।”

National life

राहदानी बनाएर विदेश जान तयार भएकी उद्यमी मगरले आर्थिक स्थितिका कारण वैदेशिक रोजगारको मोह त्यागेकी थिइन्। आफू स्वरोजगार हुनुका साथै उनले सोही ठाउँका पाँच जना स्थानीय महिलालाई रोजगार पनि दिइन्। दुनाटपरी उद्योगबाट मासिक रु दुई लाख ७० हजार बराबरको कारोबार हुने गरेको उनले बताइन्। 

दुनाटपरीका लागि चाहिने कच्चापदार्थ, कामदारको तलब, जीविकोपार्जनलगायत परिवारको सम्पूर्ण खर्च कटाएर मासिक रूपमा रु ३५ हजार बचत हुने गरेको मगरले जानकारी दिइन्। “परिवारमा आफूसहित श्रीमान्, एक छोरी र एक छोरा छौँ। छोराछोरीको शिक्षादिक्षाको खर्च यही व्यवसायीले धान्दै आएको छ”, उनले भनिन्। 

उद्यमी मगरले भनिन्, “सुरुमा आर्थिक स्थिति एकदम कमजोर थियो, खानलाउनसमेत धौधौ पर्दथ्यो। अहिले श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ। आफूले दुनाटपरी व्यवसाय समाल्दै आएको छु। आर्थिक स्थिति सुध्रिएको छ। छोराछोरीलाई राम्रो स्कुलमा पढाएको छु।” 

दुनाटपरी उद्योग सञ्चालनका साथै स्थानीय महिलालाई उनले दुनाटपरीको तालिम दिने गरेकी छन्। वडाबाट आएको कार्यक्रममार्फत स्थानीय महिलालाई तालिम दिएको उनले अनुभव सुनाइन्। धनगढी, अछाम, बर्दिया, हसुलियालगायत विभिन्न स्थानका ६० जनाभन्दा बढी महिलालाई आफूले दुनाटपरीसम्बन्धी तालिम दिएको उनले जानकारी दिइन्। 

Shivam cement

मगरका अनुसार उद्योगबाट दिनमा तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुँदै आएको छ। टपरी रु चार र दुना रु एकमा बिक्री हुने जनाउँदै उनले दुनाटपरी धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया साथै पोखरामा समेत पठाउने गरेको बताइन्। सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको उनको भनाइ छ।

मगरले सुदूरपश्चिम प्रदेशबाट आफू उत्कृष्ट महिला उद्यमीका रूपमा छनोट भई गत वर्ष सम्मानित भएको स्मरण गरिन्। उद्योगका लागि स्थानीय तथा प्रदेश सरकारबाट अनुदान प्राप्त भएमा व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उनले बताइन्।

प्रकाशित: Jun 14, 2026| 20:22 आइतबार, जेठ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्