आइतबार, साउन ३, २०८३

बाँकेमा पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

 |  आइतबार, जेठ ३१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३१, २०८३

काठमाडौं- जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ। 

आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले धानको ब्याड राख्न नपाएको नेपालगञ्ज-१९ सुइयागाउँका किसान ललवा माहुतले बताए। 

सिँचाइको व्यवस्था नभएकाले किसानले धान रोप्न आकाश हेरेर बस्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ,’ उनले भने। 

बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि बीउको ब्याड राखिएको छ।

जानकी गाउँपालिकाको साइगाउँ, बेलभार क्षेत्रमा पर्याप्त बर्सात नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष मोहम्मद रजा राईले बताए। 

बाँकेमा सिँचाइको सुविधा पुगेको र वैकल्पिक उपाय गरेर हालसम्म करिब ४० प्रतिशत किसानले मात्रै धानको बीउ ब्याड राखेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले जानकारी दिइन्। जिल्लामा करिब ३६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ।

यहाँ सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन्।

धानको बीउ राख्ने समयलाई दृष्टिगत गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी मनोज शाहले जानकारी दिए।

उनका अनुसार राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकामा हालसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ पुगेको छ।


 

प्रकाशित: Jun 14, 2026| 13:23 आइतबार, जेठ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्