आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • वन कार्यालयको स्पष्टीकरण- 'बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो'

वन कार्यालयको स्पष्टीकरण- 'बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो'

 |  आइतबार, जेठ ३१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३१, २०८३

काठमाडौं- गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। 

National life

कार्यालयले आज पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दाबी गरेको छ। कार्यालयका अनुसार भिरतर्फ धकेलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना थियो। 

कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डा रामविचारी ठाकुरले गाईमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले त्यहाँ भइरहेको अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी रूपमा कब्जा गरी खोका–छाप्रा निर्माण गर्ने र किनबेचसमेत हुने गतिविधि लामो समयदेखि चल्दै आएको छ। 

कार्यालयले करिब पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध संरचनाहरू निर्माण गरिएको उल्लेख गरेको छ। एक महिनाअघि ती संरचना हटाउन निर्देशन दिइएको थियो। यद्यपि केही छाप्राहरू हटाइए पनि घनश्याम धामीले प्रयोग गर्दै आएको टेम्पो भने हटाउन अटेर गरिएको जनाइएको छ। 

यसअघि पनि वन कर्मचारीले उक्त टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्‍याई दिएको भए पनि पछि पुनः सोही स्थानमा ल्याई पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ। 

Shivam cement

यही जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेका थिए। ‘जे गर्नुस् गर्नुहोस्, म हटाउँदिन’ भन्दै गालीगलौज गरेपछि वन कार्यालयको टोलीले गुडाउन नमिल्ने अवस्थामा रहेको टेम्पोलाई हटाउने प्रयास गरेको थियो। सो क्रममा भिरालो भू–बनावट र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई दुर्घटनावश भीरबाट खसेको कार्यालयले स्पष्ट पारेको कार्यालयको भनाइ छ। 

वन कार्यालयका कर्मचारीहरूले कानुनअनुसार वन संरक्षण तथा अतिक्रमण नियन्त्रण भइरहेको उल्लेख गर्दै घटनालाई अतिरञ्जित वा भ्रामक रूपमा प्रस्तुत नगर्न आग्रह गरेका छन्।

प्रकाशित: Jun 14, 2026| 12:31 आइतबार, जेठ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्