काठमाडौं– त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा अध्यनरत विद्यार्थीले शुल्क घटाउन भन्दै आन्दोलन गरेपछि एकनले १० प्रतिशत शुल्क घटाउने निर्णय गरेको छ। कोरोना संक्रमणका कारण भौतिक रुपमा कक्षा सञ्चालन नभएकाले शुल्क घटाउनुपर्ने उनीहरूको माग थियो।
नेपाली इन्जिनियरिङ कलेजहरुको छाता संगठन (एकन) अध्यक्ष लक्ष्मण पोख्रेलले कलेजले लिने शुल्कमा १० प्रतिशत मात्र छुट दिन सकिने बताए। इन्जिनियरिङ कलेज र विद्यार्थीबीच कलेजले लिने शुल्कको विषयलाई लिएर भएका विवाद समाधान गर्न एकनले विद्यार्थीले तिनुपर्ने शूल्कमा सबै कलेजलाई १० प्रतिशत घटाउने निर्णय गरेको बताए।
उनले भने, ‘विद्यार्थीले मागेअनुसार ५० प्रतिशत शुल्क घटाउन सकिँदैन। यसै पनि इन्जिनियरिङ कलेजको शुल्क बढ्दो महँगीअनुसार समायोजन भएको छैन। कलेजले शिक्षक, कर्मचारी र घरभाडा शुल्कमा छुट पाएका हुँदैनन्। त्यही पनि विद्यार्थीलाई १० प्रतिशत छुट दिन भनेका छौं।’
विद्यार्थीले कलेजले मनोमानी ढंगबाट शुल्क लिने गरेको र पठनपाठनमा ध्यान नदिएको भन्दै जनकपुर इन्जिनियरिङ कलेज, एडभान्स कलेज अफ इन्जिनियरिङ, नेसनल कलेज अफ इन्जिनियरिङ, हिमालय कलेज अफ इन्जिनियरिङ लगायतका कलेजमा तालाबन्दी गरेका छन्।