पोखरा- पोखरा आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई ज्योति विकास बैङ्क, पोखरा शाखाले कम्प्युटर प्रदान गरेको छ बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको हो।
शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रेशमलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मालाई कम्प्युटर हस्तान्तरण गरे। सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका श्रेष्ठले बैङ्कले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र आफ्नै ठाउँको विद्यालयलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाले कालिकाका पूर्वविद्यार्थीहरूको प्रगति देखेर विद्यालय परिवारले सधैँ गौरव गर्ने बताउँदै प्रतिभाशाली विद्यार्थी उत्पादनमा कालिका लागिरहेको जानकारी दिए। उनले प्राप्त सामग्रीको सदुपयोग गरेर विद्यार्थीको सिकाइको गुणस्तर वृद्धिका लागि पहल गर्ने बताए।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका ज्योति विकास बैङ्कलाई धन्यवाद ज्ञापन गरे। विद्यालयकी सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको स्वागतमा भएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रुपिन्द्र प्रभावीले गरेका थिए। सो अवसरमा बैङ्कका कर्जा अधिकृत दीपेन्द्र शर्मा र सेवाग्राही शाखाकी सविना क्षेत्रीले बैङ्कले दिने सेवासुविधाका बारेमा प्रकाश पारेका थिए।