सोमबार, चैत २, २०८२

युरोपको सपना देख्‍ने नेपाली युवा लिबियामा बन्धक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पोखराकी सुनीता पुनलाई हरेक दिन दिउँसो दुई बजे मुटुको ढुकढुकी बढ्न थाल्छ।

फेसबुक मेसेन्जरमा उनको भतिजलाई त्यति नै खेर परिवारसँग कुरा गर्न र पैसा माग्न अह्राइएको हुन्छ।

उनको भतिज धिराज थापासहित रन्जित केसी, अमन लोजा, ओम गुरुङ र सुरेश केसीलाई उत्तर अफ्रिकी मुलुक लिबियामा बन्धक बनाइराखिएको उजुरी प्रहरीमा परेको छ।

वैदेशिक रोजगारमा लैजाने दलालले उनीहरूसँग कुल ५१ लाख रुपैयाँ लिएर इटली लैजाने आशा देखाएको बताइन्छ।

तर अहिले उनीहरू लिबियामा स्थानीय गुन्डाहरूको नियन्त्रणमा रहेको उनीहरूले बताएका छन्।

सुनीता पुन, धिरज थापाकी सानीआमा

भदौ २२ गते धिरज नेपालबाट गएको हो।

एक महिना दुबईमा राख्यो। इटली गएको मानिस एकाएक लिबिया पुर्‍याइयो।

सन्चै छ भन्दाभन्दै अहिले आएर नराम्रो अवस्था भएपछि उद्धारको काम सुरु गरेको हो।

उनीहरूले सुरुमा सन्देश पठाइराख्थे। ठिकै छ भनिरहन्थे। आज लैजान्छ, भोलि लैजान्छ भनिरहन्थे। त्यसरी नै दिनहरू बितिरहेका थिए।

तर पछि एकदमै अप्ठेरो अवस्था भइसकेपछि उनीहरूले नै आफ्ना आमाबुवालाई उनीहरूको अवस्थाबारे बताए। त्यहाँका गुन्डाहरूले समातेर पैसा माग्न थालेपछि बल्ल हामीलाई उनीहरू अप्ठेरोमा परेको थाहा भयो।

त्यसपछि पहिले हामी पोखरा गयौँ। वैदेशिक रोजगार विभागमा जानुपर्छ भनेपछि हामी काठमाण्डू गयौँ। त्यहाँ हामीले विभाग तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सम्पर्क गर्‍यौँ।

अहिले उनीहरूले रिहाइका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ मागेको मेसेन्जरमार्फत् बताइरहेका छन्। गुन्डाहरूले राम्रोसँग खान र लाउन दिएका छैनन्। चप्पल पनि छैन भनिरहेका छन्। मोबाइल पनि पैसा माग्न र दु:ख बिसाउनलाई मात्रै प्रयोग गर्न दिइएको बताएका छन्।

सरकारले उनीहरूलाई उद्धार गर्न सकेसम्म प्रयास गरोस् भन्ने लाग्छ।



मिनु लोजा, अमन लोजाकी दिदी
मेरो भाइ काठमाण्डूमै १२ कक्षामा पढिरहेको थियो। त्यहीँ उसको सम्पर्क दलालसँग भएको रहेछ।

ऊ नेपालबाट गएको ६ महिना भइसक्यो। हामीलाई कुनै पनि प्रक्रिया थाहा थिएन। अहिले त उनीहरू यस्तो ठाउँमा हामीलाई बन्धक बनाएर राखिएको छ कि कसैगरी उम्किन सकिँदैन भनिरहेका छन्।

हामीले थाहा पाएअनुसार उनीहरू भएको ठाउँनिर नेपाली सेनाको शान्ति सेनाको टोली उद्धार गर्न पनि पुगेको थियो।

उद्धारका लागि अनुरोध गर्दा पाकिस्तानीहरू बाहिर आएको तर नेपाली कोही नआएको भनिएको छ। केही डर भएर हो वा अझै इटली जाने सम्भावना देखेर हो उनीहरू उद्धार हुन आएनन् भनिएको छ।

हामीले 'नजाऊ' भन्दाभन्दै उनीहरू गए। उनीहरूले दुबईबाट सीधै इटली जाने भनेका थिए तर दुबईबाट उनीहरूलाई कसरी लिबिया पुर्‍याए भन्ने हामीलाई थाहा भएन।

लिबिया पुगिसकेपछि मात्र उनीहरूले हामीलाई बताए। पानीजहाजबाट इटली पुर्‍याउँछु भनेका छन् भनेर उनीहरूले बताए।

तर पछि समुद्रमा छाल बढेको हुनाले अहिले नलैजाने भनेर उनीहरूलाई बताइएछ। बल्ल भाइले अब नेपाल फर्कन पाए हुन्थ्यो भनेपछि अरू को को छन् भनेर सोध्दै जाँदा पोखराकै चार जना भएको पत्ता लाग्यो। उनीहरूका परिवार पनि उस्तै हालतमा रहेछन्।

लिबियाबाट नेपाल फर्कन पैसा लाग्ने भन्दै माग्दै थिए।

हामीले उनीहरूलाई पठाउने दलाललाई सम्पर्क गरेर १५ दिनभित्र फिर्ता ल्याउने र लागेको पैसा तिर्ने कागज गर्‍यौँ। तर त्यसपछि दलाल फरार भयो।

अनि लिबियामा उनीहरूलाई व्यवहार नराम्रो गर्न थाले। पैसा मागेर हैरान पार्न थालेछन्।

अहिले हामी उनीहरूको खोजी र उद्धार होस् भनेर वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय तथा प्रहरीको मा गएका छौँ।



प्रलोभन दिएर फसाउने क्रम
युरोप तथा अमेरिका पठाउने प्रलोभनमा नेपालीहरूलाई विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा पुर्‍याएर बन्धक बनाउने क्रम बढ्न थालेको छ।

अधिकारीहरूका अनुसार युरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मध्यपूर्व र अफ्रिकाका द्वन्द्वग्रस्त मुलुकहरूलाई केन्द्र बनाउन थालेका हुन्।


इटली पठाउने भन्दै उत्तरी अफ्रिकी मुलुक लिबिया पुर्‍याइएका पाँच नेपालीलाई बन्धक बनाइएको भन्दै उनीहरूको परिवारका सदस्यले उद्धारका लागि सरकारलाई आग्रह गरिरहेका बेला अधिकारीहरूले त्यस्ता घटनाहरू बढेको जानकारी दिएका हुन्।

इटली जाने भनेर करिब पाँच महिना अघि दुबई गएका पाँचजना नेपाली युवाले केही साताअघि आफ्ना परिवारलाई भिडियो सन्देशमार्फत् आफूहरूलाई लिबियामा बन्धक बनाइएको जानकारी गराएका थिए।

फेसबुकमार्फत् पठाइएको उक्त भिडियो सन्देशमा उनीहरूको आँखामा पट्टी बाँधिएको थियो।

मिनु लोजा, एक पीडितकी दिदी
दलाललाई प्रतिव्यक्ति १३ लाख रूपैयाँ भन्दा बढी बुझाएर भ्रमण भिसामा इटाली जान हिँडेका उनीहरू लिबियामा बन्धक बनेको खबर पाउँदा परिवारजन अन्योलमा परेका छन्।

आफन्त बन्धक बनेको खबर पाएपछि पीडित परिवारका सदस्यहरू काठमाण्डू आएर प्रहरी र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा उजुरी दर्ता गराए।

सोही उजुरीका आधारमा प्रहरीले नेपालमा रहेका दुई दलाललाई पक्राउ गरिसकेको र पीडितलाई उद्धारका लागि पहल गरिएलको अधिकारीहरू बताउँछन्।

अलपत्र
उनीहरूका अनुसार पछिल्ला वर्षहरूमा त्यसरी बन्धक बनाउने र अलपत्र पार्ने क्रम बढ्दो छ।

लिबियासमेत हेर्ने इजिप्टस्थित नेपाली राजदूत झविन्द्रप्रसाद अर्याल भन्छन्, "अहिले लिबियाको जस्तै घटना नाइजेरियाको पनि आएको थियो। कहिले सिरियाको आउँछ। कतिपय उच्च शिक्षा हासिल गरेका युवा पनि त्यसरी आएको देखिन्छ। यो प्रवृत्ति घट्ला भन्दा झन् बढ्दै गइरहेको छ।"

उनले हाल लिबियामा बन्धक बनाइएकाहरूको उद्धारका लागि त्यहाँको सरकार, अन्तर्राष्ट्रिय नियोगहरू र शान्ति सेनामा रहेको नेपाली सेनामार्फत् पहल गरिएको जानकारी दिए।

तर नेपालीलाई प्रलोभनमा पारी विभिन्न मुलुक पुर्‍याएर बन्धक बनाउनेहरूले बारम्बार बाटो परिवर्तन गर्ने गरेकाले रोकथाममा चुनौती थपिएको कतिपय अधिकारीको भनाइ छ।

बाटो परिवर्तन
लिबियामा बन्धक बनाइएका नेपालीबारे अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंह भन्छन्, "पहिले टर्की तिरबाट लाने गर्थे। अहिले लिबिया तिरबाट लान थालेका छन्। त्यहाँ खतरा छ भन्ने थाहा हुँदाहुँदै पनि बाटो परिवर्तन गरेको देखिन्छ।"

तर नेपालमा बसेर विदेश पठाउने नाममा बदमासी गर्ने दलाललाई ठगी मुद्दामा मात्र कारबाही हुने गरेकाले यस्ता गतिविधि बढेको कतिपय जानकारहरूको भनाइ रहने गरेको छ। -बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।