तस्बिरः आमाका साथमा जनक माझी।
सुर्खेत – पञ्चपुरी नगरपालिका–९ सुर्खेतका जनक माझी १६ वर्षका भए। दुई वर्षअघिसम्म उनी जनता माध्यमिक विद्यालयमा कक्षा–९ मा बढ्थे। एसइइ आउन एक वर्ष बाँकी रहँदा उनले सोच्थे, भविष्यमा समाजको सेवा गर्छु। समाज सेवा गर्ने उपयुक्त माध्यम कि डाक्टर कि त शिक्षक, यस्तै कुरा मनमा खेलाउँथे उनी। बेलाबेलामा सोच्थे, ‘पैसाले भ्याएछ भने डाक्टर बन्छु नभए शिक्षक त कसो नभइएला।’ यतिबेला जनकका डाक्टर बन्ने सपनामा तगारो लागेको छ, उनलाई एकाएक बीचमै पढाइ छाड्नुपर्ने बाध्यता आइलागेको छ।
कक्षा ९ को अन्तिम परीक्षा नजिकिँदै गयो। त्यसपछि स्कुलले जन्मदर्ता माग्यो। आमा भएर पनि बुवाको पत्ता लाग्न नसक्दा उनले गाउँपालिकाबाट जन्मदर्ता पाएनन्। जन्मदर्ता नभएपछि विद्यालयले कक्षा ९ को फाराम लिन मानेन। जन्मदर्ता बिना न पढ्ने सपना पूरा भए न त डाक्टर बन्ने सपना नै।
उनले जन्मदर्ता बनाउन हारगुहार नगरेका भने होइनन्। आमा र आफन्तीलाई लिएर साविकको गाविसमा पुगे। तर जन्मदर्ताको लागि बुवा को हो ? भन्ने पहिचान नभएपछि त्यहाँबाट उनले जन्मदर्ता पाएनन्। अन्ततः फाराम भर्ने समयावधि सकियो। अनि जनकका लागि विद्यालयको ढोका सधैंका लागि बन्द भयो।
जनकलाई झन्डै दुइ वर्षपहिले विद्यालयले जन्मदर्ता पेस गर्न आग्रह गरेको थियो। तर माझिले बुवा नभएकै कारण जन्मदर्ता पेस गर्न सकेनन्। ‘धर्तीमा पाइला टेकेपछि जिन्दगीमा ठूलो सजाय भोगिरहेको छु’ उनले भने, ‘बुवा नहुँदा जन्मदर्ताकै कारण पढ्नबाट वञ्चित हुनुपर्यो।’
आफू यहीं जन्मेको कुरा समाजलाई राम्ररी थाहा भए पनि पहुँच नभएकै कारण मौलिक अधिकार वञ्चित भएको उनको दुःखेसो छ। ‘८ कक्षा पास भएर ९ मा पढ्दै थिएँ, स्कुलले एसइईका लागि फाराम खुलाएपछि जन्मदर्ता नहुँदा पढ्न पाइनँ’, जनकले भने।
पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खडकाले नगरपालिकामा यस विषयमा आफूहरुलाई जानकारी नभएको बताए। जनकका लागि नगरपालिकाबाट जन्म दर्ता गराउन सकिने भए पनि उजुरी नआएका कारण समस्या भएको उनको भनाइ छ।
आमा भूमिसराले भने वडा कार्यालयमा उजुरी दिएको तर त्यहाँ पनि बाबुको नागरिकता मागेपछि समस्या भएको बताइन्। भूमिसराका अनुसार १६ वर्षअघि उनको स्थानीय माझीथरका केटासँग प्रेम बसेको थियो। माझी र भूमिसराबीच लामो समयसम्म प्रेमसम्बन्ध रह्यो। ‘सुरुमा विवाह गर्छु भनेको थियो, पेटमा बच्चा रहेपछि तिस्कार गर्यो’, भूमिसराले भनिन्, ‘उसैको गर्भबाट बच्चा जन्मियो। छोराको भविष्यकै लागि समाजको तिरस्कार सहेर बसें। आज छोराले जन्मदर्ता नपाउँदा निकै पीडा भएको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४