बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिल, दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिल, दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

 |  बुधबार, साउन १३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०८३

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्।

सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उनको भनाइ थियो। उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरे।

प्रधानमन्त्रीले भनेका छन्, “फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनूहोला। सुरक्षित र संयमित भएर बसौँ। एकअर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ।”

मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्, “सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ।”

सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

प्रकाशित: Jul 29, 2026| 05:36 बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्