एजेन्सी- लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेनसमाथी सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पिएसजीले रेनसमाथी ४-१ को सहज जित निकालेको हो ।
घरेलु मैदानमा पिएसजीको जितका लागि एडिन्सन काभानीले दुई गोल गर्दा एन्जल डी मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे । रेनसका एमबाए नियाङले एक गोल फर्काएका थिए ।
खेलको ७ औं मिनेटमा काभानीको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लियो । त्यस्तै २८ औं मिनेटमा रेनसका नियाङले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पिएसजीले थप घ गोल गर्दा रेनसले भने कुनै गोल गर्द सकेन ।
खेलको ६० औं मिनेटमा डी मारियाले गोल गर्दै पिएसजीलाई २-१ को अग्रता दिलाए । त्यसको ६ मिनेट नबित्दै युवा खेलाडी एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता ३-१ ले बढाए । त्यसपछि खेलको ७१ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ४-१ को जित दिलाए ।
जितसँगै पिएसजीले लिगको शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको छ । पिएसजीले २० खेलबाट ५६ अंक जोडेको छ । दोस्रो स्थानको लिलेको ४३ अंक छ । पराजित रेनस ३० अंक जोडेर दशौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४