काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा जबरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ। चिकित्सा शिक्षा विधेयक पारित भएपछि बसेको कांग्रेस संसदीय दलको आकस्मिक बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले उक्त कुरा बताएको हो।
बैठकले सरकार बहुमतको बलमा तानाशाही बन्दै गएको निस्कर्ष निकालेको छ। ‘एउटा अनसनकारीलाई अनसन स्थलमा छोडेर प्रतिपक्षको आवाज नसुनेर सरकारले द्वन्द्वको सिर्जना गरेको छ’, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नेपालकै संसदीय इतिहासमा कसैका कुरा नसुन्ने प्रवृती वर्तमान सरकारमा हाबी छ। जसको सरकारले ठूलो मूल्य तिर्नुपर्ने छ।’
प्रमुख प्रतिपक्षीदलले रचनात्मक प्रतिपक्षको भूमिका खेलिरहँदासमेत सरकारले आवाज दबाउन खोजेको कांग्रेसको आरोप छ। ‘सरकार बनेको एक वर्ष भयो। हामीले कहिले संसदमा उच्श्रृखलता प्रस्तुत गरेनौं। हाम्रा आवाजको सुनुवाई भएन भनेर सडकमा टायर बालेनौं। जनतालाई दुःख दिएनौं’, प्रवक्ता शर्माले भने, ‘सधै जनतालाई दुःख नदिने गरि जिम्मेवार प्रतिपक्षको भूमिकामा उभियौं। जसलाई सरकारले कमजोरी ठान्यो।’
उनले आफूहरु अझै पनि जनतालाई दुःख दिएर सरकारका कदम बिरुद्ध लड्ने नभई जनतालाई साथमै राखेर अगाडि बढ्ने बताए।
उनले सालिन रुपमा देशव्यापी रुपमा सरकारका अधिनायकवादी क्रियाकलापको भोलीबाटै भन्डाफोर गर्ने जानकारी दिए। 'हामी सालिनतालाई निरन्तरता दिँदै राष्ट्रव्यापी प्रदर्शन गर्छौं। हाम्रा कार्यकर्तालाई तत्काल रिहाइ गरियोस्। हामी जनजीवन प्रभावित नहुने गरि रचनात्मक रुपमा सरकारका कदमको विरोध गर्नेछौं ', उनले भने। सरकारले बडा जतनसँग राखेको अधिनायकवादी आकांक्षालाई आज खुला ढंगले प्रस्तुत गरेको कांग्रेसको आरोप छ।
प्रधानमन्त्री स्वीट्जरल्यान्ड भएको बेला हिटलर शैलीमा विधान पारित भएको प्रवक्ता शर्माको आरोप छ। सरकारले गोविन्द केसीसँग आफैंले सम्झौता गरेर आफैं कार्यन्वयन नगरेर आफैंप्रतिको विश्वासको वातावरण गुमाएको उनले बताए।
गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाका नाममा रहेका अस्पताल हटाएर सरकारले गल्ती गरेको कांग्रेसको आरोप छ। प्रवक्ता शर्माले गिरफ्तार गरिएका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई तत्काल रिहाइ गर्न समेत माग गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४