काठमाडौं- नेकपा नेता योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित गर्ने क्रममा भएको विरोधको पार्टीले सम्मान गर्ने बताएका छन्।
विधेयक पारित भएपछि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘विधेयक पास गर्ने क्रममा केही तितामिठा कुरा भएका छन्। प्रतिपक्षीको विरोधको हामी सम्मान गर्छौं। त्यो विरोध गर्न पाउने उहाँहरुको अधिकार छ।
त्यो विरोध हाम्रो पार्टीले स्वीकार गर्छ।’ सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाका नाममा रहेका अस्पताल बिचल्लीमा नपर्ने उनले बताए। उनले डा. गोविन्द केसीलाई अनशन तोडेर खुसियाली मनाउन आग्रह गरे। भट्टराईले भने, ‘डाक्टर साप्, तपाईंको शतप्रतिशत जित भएको छ। खुसियाली मनाउनुस्। अब तपाईंले आन्दोलन गर्न आवश्यक छैन।’
उनले विधेयकमा सबै दलकको सहमति होला भन्ने अपेक्षा रहे पनि त्यो हुन नसकेको बताए। उनले विधेयकमा सरकारले विभिन्न कालखण्डमा बनाएका आयोग, समितिको भावना र डा. केसीको भावनालाई प्रतिनिधित्व गरेको छ।’ नेता भट्टराईले यो निर्णयले नेपालको चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भएको दाबी गरे। उनले भने, ‘अब चिकित्सा क्षेत्रमा रहेका विकृति अन्त्य भएको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४