काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले समृद्धिको नारा दिने कम्युनिस्ट सरकारले दुई तिहाइको चरम दुरुपयोग गर्दै माफिया पोस्ने विधेयक पारित गरेको बताएका छन्।
संसदबाट सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै भने, 'एकलौटी रुपमा प्रतिपक्षलाई झुक्याएर विधेयक पारित गरेको छ। यसविरुद्धको लडाई लामो हुन्छ र महँगो हुन्छ।'
विधेयक पारित हुँदैमा कांग्रेस चुप लागेर नबस्ने बताउँदै भने, 'कांग्रेस अब यो मुद्दालाई बोकेर जनतासमक्ष जान्छ। आज सरकारले कांग्रेसलाई जिस्काएको छ, जसले कांग्रेसलाई जिस्काएको छ त्यो सकिन्छ। इतिहासले त्यही देखाएको छ।’
उनले सभामुख कृष्णबहादुर महराले प्रतिपक्षीको आवाजै नसुनेर जालझेलपूर्वक विधेयक पास गर्न भूमिका खेलेको आरोप लगाए। गोविन्द केसीको जिवनप्रति सरकार अत्यन्त असंवेदनशिल देखिएको बताउँदै थापाले भने, 'सरकारले गोविन्द केसी मरे मरुन भन्ने मनसायका साथ विधेयक अघि बढेको देखिन्छ।'
‘सरकारको आदेश पालना गरेर सभामुखले जालझेल ढंगले चिकित्सा शिक्षा विधेक पारित गर्न भूमिका खेले’, उनले भने, ‘सभामुखले जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुनुपर्थ्यो। त्यो भएन। उहाँ पार्टीको कार्यकर्ता जस्तो हुनु भयो।’
सरकारले केसीका ९५ प्रतिशत माग पुरा भइसके भनिरहँदा किन पाँच प्रसेन्ट माग पुरा गरेन भन्दै प्रस्न गरेका छन्। उनले भने, ‘सरकारले केसीका पाँच प्रसेन्ट माग पुरा नगरेर मरे मरोस भन्न तयार छ। जून दुभाग्यपूर्ण छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४